समाचार कालिकोटको मुम्रा मतदान केन्द्रमा बम आक्रमण, ३८ राउण्ड फायर
Ujyaalo

मनिराज पाण्डे/उज्यालो

कालिकोट, मंसिर १० – चुनाव विरोधी नेपाल कम्युनिष्ट पार्टीको अवरोध र आक्रमणका बीच कालिकोटमा मतदान सम्पन्न भएको छ । आज मतदानकै दिन ठाउँ ठाउँमा बम विस्फोट भएपनि झण्डै ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले बताउनुभयो ।

सदरमुकाम आसपासका मतदान केन्द्र बाट मतपेटिका आइतवार राती नै मान्म पुर्याएको डिएसपी सुवास बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार राती भिडन्त भएको मुम्रस्थित ठिगेल्नी मतदान केन्द्र, माल्कोट स्थित नन्दादेवी मावि सेरापाटा र शान्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका आइतवार बेलुकी हेलिकोप्टरबाट मान्म ल्याइएको छ । प्रहरीका अनुसार मतदान शुरु भएपछि पनि कालिकोटका कोटवाडा, चौथीकोट, माल्कोट बिथल डाँडा, पचाल झरनाको कालिका मतदान केन्द्र खर्रकोेट लगायतका ठाउँमा विष्फोट भएको छ ।

यसैबिच, शनिवार राती मुम्रा स्थित ठिगेल्नी आधारभूत विद्यालय किर्तिपुर मतदान केन्द्रमा करिब २ सय आक्रमणकारीले मतदान केन्द्रमा ७ वटा बम हानेका थिए । आक्रमणकारीले ३८ राउण्ड हवाई फायर गरेर भगाएको प्रहरीले जनाएको छ । ३ वटा सकेट बम आइतवार विहान सेनाले निश्क्रिय पारेको थियो । बम प्रहारबाट प्रहरी नायब निरीक्षक गिरीराज भण्डारी र जवान रामवहादुर चौधरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ ।

Share It

Post Comments
थप समाचार