समाचार सबै सेवा सुविधा आफ्नो क्षेत्रको विकासमा खर्च गर्छु : कांग्रेस उम्मेदवार सम्बाहाम्फे
Ujyaalo

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, मंसिर ११ – नेपाली कांग्रेसको तेह्रथुम प्रदेशसभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले आफूलाई विजयी गराए राज्यको तर्फबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधा व्यक्तिगत प्रयोजनका लागि नलिने घोषणा गर्नुभएको छ । उहाँले आफूलाई राज्यले दिने सेवा सुविधावापतको रकम समेत आफ्नो निर्वाचन क्षेत्रको विकासमै खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

चुनाव प्रचार प्रसारका क्रममा आइतबार आठराई गाउँपालिकाको छातेढुंगामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उम्मेदवार सम्बाहाम्फेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उम्मेदवार सम्बाहाम्फे निजी तथा व्यवसायिक विद्यालयहरुको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

झण्डै अढाई दशकसम्म प्याब्सनको विभिन्न अहोदामा रहेर शैक्षिक क्षेत्रको उन्नयनमा योगदान गर्नुभएका नेता सम्बाहाम्फेले जिल्लाका राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ मात्रै हेरेकाले विकास नभएको तर्क राख्दै आउनुभएको छ । २०४६ सालपछि निर्वाचित धेरै नेताहरु आश गरेको, तर कसैले पनि भरपर्दो काम गर्न नसकेकाले अब आफ्नो क्षेत्रको विकासका लागि आफू स्वयम् अघि बढेको सम्बाहाम्फेको भनाई छ । यो निर्वाचन क्षेत्रमा ३० मतदान स्थलबाट ३० हजार ५ सय ८८ जना मतदाताले मतदान गर्नेछन् ।

 

Share It

Post Comments
थप समाचार