समाचार मतपेटिका संकलन हुँदै, मतदान प्रतिशत बढ्न सक्ने
Ujyaalo

काठमाडौं, मंसिर ११ – आइतबार मतदान भएका ठाउँका मतपेटिका सोमबारसम्म संकलन भइसक्ने निर्वाचन आयोगले जनाएको छ । 

नजिकै रहेका मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकामसम्म ल्याइसकिएको तर टाढाका केन्द्रबाट सोमबार मात्र मतपेटिका ल्याइसकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

मतदान सकिएलगत्तैदेखि मतपेटिका संकलनको काम सुरु भए पनि गाडी नपुगेका दुर्गम ठाउँबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाममा ल्याउने व्यवस्था मिलाइएको छ । मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने छ । 

मतपेटिकामा निर्वाचन आयोगको सिलबन्दी रहनेछ भने दलहरुले आवश्यक ठानेमा उनीहरुले पनि कुनै चिन्ह बनाउन सक्ने आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो । केही जिल्लामा भने मतपत्रको सुरक्षाका लागि सिसिटिभी राख्ने व्यवस्था गरिएको छ । २१ गते दोस्रो चरणको मतदान भएपछि त्यही दिन बेलुकादेखि मतगणना सुरु हुने आयोगले जनाएको छ । 

प्रतिशत बढ्ने अनुमान

निर्वाचन आयोगले पहिलो चरणका भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान प्रतिशत बढ्ने अनुमान गरेको छ । आइतबार ५ बजेसम्मको जानकारी अनुसार ६५ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक आएपनि यो प्रतिशत बढ्ने आयोगले अनुमान गरेको हो । 

बेलुका ५ बजेपछि पनि कतिपय मतदान केन्द्रमा मतदान भैरहेकाले अन्तिम तथ्यांक आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार भएको मतदानको अन्तिम जानकारी सोमबार आउनेछ । आइतबार पहिलो चरणमा प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भएको हो । 

 

Share It

Post Comments
थप समाचार