समाचार दल र आयोगको कुरा नमिल्दा सोलुखुम्बुमा हेलिकप्टरबाट मतपेटिका नल्याइने
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, मंसिर ११ – राजनीतिक दल र निर्वाचन आयोगबिच कुरा नमिल्दा सोलुखुम्बुमा हेलिकप्टरबाट मतपेटिका नल्याइने भएको छ । निर्वाचन आयोगले अति पहाडी र हिमाली क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गर्ने भनेको भए पनि राजनीतिक दलका प्रतिनिधि हेलिकप्टरमा बस्न पाउँने वा नपाउँने भन्ने विषयमा आयोग र दलबिच कुरा नमिल्दा हेलिकप्टरबाट मतपेटिका नल्याइने भएको हो ।

यसअघि सोलुखुम्बुको लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने भनिएको थियो । आयोगले मतपेटिका ल्याउँदा हेलिकप्टरमा मतदान अधिकृत मात्रै बस्न मिल्ने बताएको छ भने दलले आफ्ना प्रतिनिधि पनि बस्न पाउनु पर्ने अडान लिएपछि  मतपेटिका भरिया मार्फत नै ल्याइने भएको हो ।

आयोग र दलबिच कुरा मिल्न नसक्दा ढिलो हुने भएपनि भरिया लगाएर नै मतपेटिका ल्याउने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । सदरमुकाम नजिकका मतदान केन्द्रका मतपेटिका आइतबार नै सदरमुकाम ल्याइएको थियो ।  

Share It

Post Comments
थप समाचार