समाचार मुस्ताङमा ३० वटा मतदान केन्द्रको मतपेटिका आइपुग्यो, सातवटा बाटोमै
Ujyaalo

प्रताप बानियाँ/उज्यालो । 

म्याग्दी, मंसिर ११ – मुस्ताङका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइएको छ ।

अहिलेसम्म सदरमुकाम जोमसोममा ३० वटा मतदान केन्द्रको मतपेटिका आइसकेको र बाँकी ७ वटा मतदान केन्द्रको मतपेटिका बाटोमा आउँदै गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

हिमाली जिल्ला मुस्ताङको मतपेटिका जोमसोमस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिने मुस्ताङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बलराम त्रिपाठीले टेलिफोनमा जानकारी दिनुभयो । 
त्रिपाठीका अनुसार उपल्लो मुस्ताङको मतपेटिका बाटोमा आउँदै गरेको हुँदा सोमबार साँझसम्म जोमसोम बजारमा आइपुग्ने बताइएको छ ।

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुस्ताङ जिल्लामा ७१ दशमलव ८४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत त्रिपाठीले जानकारी दिनुभयो । 

जम्मा ३७ वटा मतदानस्थल र ३७ वटै मतदान केन्द्र रहेको मुस्ताङमा कुल ९ हजार ४ सय २७ मतदाता रहेका थिए । मुस्ताङमा जम्मा ६ हजार ७ सय ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

२०६८ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको कुल जनसङ्ख्या १३ हजार ४ सय ५२ रहेको छ । 
लोमान्थाङ, दालोमे, बाह्रगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङसहित पाँचवटा गाउँपालिका रहेको मुस्ताङमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । 

Share It

Post Comments
थप समाचार