समाचार म्याग्दीका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाममा, गूर्जाको मतपेटिका हेलिकप्टरबाट ल्याइयो
Ujyaalo

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, मंसिर ११ – म्याग्दीमा आइतबार सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सबै मतपेटिका सदरमुकाम बेनीबजारमा ल्याइएको छ ।

जिल्लाका ७२ मतदानस्थल र १०६ वटा मतदान केन्द्रका ३ सय १८ वटा मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । 

सदरमुकामबाट निकै दुर्गममा रहेको धौलागिरि गाउँपालिका –१, गूर्जाबाट भने मतपेटिका सोमबार बिहान मात्रै हेलिकप्टरबाट बेनी ल्याइएको छ ।

भौगोलिक हिसाबले विकट, यातायातको पहुँच नहुनु, सुरक्षाका दृष्टिकोणले चुनौती भएको कारणले गर्दा गूर्जाको मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको हो ।

कुल ६ सय ७३ मतदाता रहेको गूर्जामा सोमबार भएको चुनावमा ३ सय ७५ मत खसेको थियो । 

गूर्जाबाहेक अन्य ठाउँको मतपेटिका आइतबार राति नै बेनी ल्याइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार सबै मतपेटिकाहरुलाई सुरक्षित साथ राखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र तीनवटा छुट्टाछुट्टै कोठामा क्रमशः प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत रहेका मतपेटिकाहरु आवश्यक प्रक्रिया पूरा गरी सिलबन्दीसहित सुरक्षित गरी राखिएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

आउँदो २१ गते ४५ जिल्लामा दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको मतदानपछि एकैसाथ मतगणना गरिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ । 

म्याग्दी जिल्लामा कुल ७५ हजार ५ सय ३८ मतदाता रहेकोमा प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ४७ हजार ४ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो ।

प्रदेशसभा (क) मा कूल मतदाता ४२ हजार ९ सय ९३ रहेकोमा २७ हजार ६ सय ९१ मत खसेको छ भने (ख) मा ३२ हजार ५ सय ४५ रहेकोमा १९ हजार ७ सय १३ मत खसेको बताइएको छ ।

Share It

Post Comments
थप समाचार