समाचार गुल्मीमा मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान
Ujyaalo

गुल्मी, मंसिर ११ –मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाका छ स्थानमा नमुना मतदान गराइएको जानकारी दिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको सिमीचौर, रुरु गाउँपालिकाको रिडी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मुसिकोट नगरपालिकाको पौदीअमराई, मदाने गाउँपालिकाको पुर्कोटदह र सिमलटारीका मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा निर्वाचन कार्यालय गुल्मीले मतदातालाई मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापनलगायतका विषयमा जानकारी गराएको थियो । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

नमुना मतदानमा सहभागीले अन्य व्यक्तिलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जना गर्न सक्ने भएकाले नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी गणेश खत्रीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले निर्वाचन आचार संहिता र निर्वाचन शिक्षाका बारेमा मतदानस्थलमा आएका मतदाताहरुलाई जानकारी गराएका थिए ।

नमुना मतदानमा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, निर्वाचन अनुगमन प्रमुख मुरारीप्रसाद पौडेल, प्रहरी प्रमुख अनुराग द्विेदी, निर्वाचन अधिकृत गणेश खत्रीलगायतका जिल्लाका प्रमुखहरुको उपस्थिति रहेको थियो । जिल्लामा चुनाव सम्पन्न गर्नका लागि ५ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई तालिम पनि सुरु गरिएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार