समाचार धादिङका सबै मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

धादिङ, मंसिर ११– धादिङका विकट क्षेत्रसमेतका सबै मतपेटिका सोमबार हेलिकप्टरको प्रयोग गरेर धादिङबेसी सदरमुकाम ल्याइएको छ ।

जिल्लाको १ सय ९ मतदान स्थलका २ सय ७५ मतदान केन्द्रका ८ सय २५ मतपेटिकाहरु सबै जिल्ला सदरमुकाम ल्याइएको प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो । धादिङको अति विकट मानिएको रुबीभ्याली गाउँपालिकाको ८ मतदानस्थल, खनियाबास गाउँपालिकाको २ मतदानस्थल र गंगाजमुना गाउँपालिकाको २ मतदान स्थलका १७ मतदान केन्द्रका ५१ मतपेटिका सोमबार हेलिकप्टरले सदरमुकाम ल्याएको थियो ।

प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ३३ हजार ५ सय ५ मतदातामध्ये १ लाख ५६ हजार ७ सय २७ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इश्वर सिंखडाले जानकारी दिनुभयो । कूल मतदातामध्ये ६७ दशमलब १२ प्रतिशतले मतदान गरेको देखिन्छ ।

जिल्ला सदरमुकामस्थित क्षेत्र नम्बर १ को मतपेटिका जिल्ला भूसंरक्षण कार्यालयको नयाँ भवनमा र क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयको हलमा सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र दलका प्रतिनिधिको रोहबरमा रहने गरी सिल गरेर राखिएको छ ।

Share It

Post Comments
थप समाचार