समाचार हिमाली जिल्ला मुस्ताङको सबै मतदान केन्द्रको मतपेटिका जोमसोम आइपुग्यो
Ujyaalo

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, मंसिर ११ – आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मुस्ताङको सबै मतपेटिका जोमसोम आइपुगेको छ । मुस्ताङको ३७ ओटै मतदान केन्द्रको मतपेटिका सोमबार साँझ सदरमुकाम जोमसोममा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिमाली जिल्ला मुस्ताङको सबै मतपेटिका ल्याएर जोमसोमस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मुस्ताङका मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले टेलिफोनमा जानकारी दिनुभयो । समितिको कार्यालय भित्र र बाहिर सिसीटिभी क्यामेरा जडान गरेर सिलबन्दीसहित मतपेटिकालाई सुरक्षित साथ राखिएको त्रिपाठीले बताउनुभयो ।

मतपेटिको सुरक्षाका लागि कार्यालयमा जनपथ तथा सशस्त्र प्रहरीका साथै कार्यालयबाहिर नेपाली सेनाले सुरक्षा दिएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुस्ताङ जिल्लामा ७१ दशमलव ८४ प्रतिशत मत खसेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

३७ ओटा मतदानस्थल र ३७ ओटै मतदान केन्द्र रहेको मुस्ताङमा कुल ९ हजार ४ सय २७ मतदाता रहेका थिए । मुस्ताङमा ६ हजार ७ सय ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । २०६८ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको कुल जनसङ्ख्या १३ हजार ४ सय ५२ रहेको छ ।

 

Share It

Post Comments
थप समाचार