समाचार ३ मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिलालाई
Ujyaalo

गोरखा, मंसीर ५ – आउँदो १० गते हुने चुनावमा गोरखाका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटिने भएका छन् । गोरखा नगरपालिका भित्रका तीन वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिलामात्रै परिचालन गर्न लागिएको हो ।

निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत गोरखा नगरपालिका वडा नम्वर ८ को सरस्वती मावि आहाले मतदान केन्द्रमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सुशीला वाग्ले, द वल्ड क्यापिटल स्कूलको ख केन्द्रमा गोरखा अस्पतालकी डाक्टर अनामिका कर्ण र क्षेत्र नम्वर १ मा पर्ने वालमन्दिर मावि छहरे मतदान केन्द्रमा गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिं भण्डारीलाई मतदान अधिकृतका रुपमा खटाउन लागिएको हो । ती सबै मतदान केन्द्रमा अरु ७ जना कर्मचारी र सुरक्षाकर्मी पनि महिलामात्रै खटाइने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो ।

गत स्थानीय तहको चुनावमा पनि एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन गराएका थिए । महिला कर्मचारीले मात्रै चुनाव गराउने ३ मतदान केन्द्रमध्ये सरस्वती मावि केन्द्रमा ९ श्य ३२, वल्डक्यापिटलको ख केन्द्रमा ८ शय ४० र वालमन्दिर मावि केन्द्रमा ८ शय ६१ मतदाता रहेका छन् । समाजमा समावेशिताको उदाहरण दिँदै महिलाहरु जुनसुकै कामको नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिन पनि महिला कर्मचारीमात्रै खटाउन लागिएको जिल्ला निर्वाचन अधिकारी सापकोटाको भनाई छ । महिला कर्मचारी र सुरक्षाकर्मीको नेतृत्वमा चुनाव गराउँदा समाजका अरु महिलाहरुलाई पनि प्रेरणा मिल्ने उहाले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार