समाचार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर १२ – मोरङको बुढीगंगा गाउँपालिका–५ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ ।

मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमको भनाई छ ।

यसैबिच प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताउनुभयो । कोयलपुर तर्फ जाँदै गर्दा उहाँहरुलाई लक्षित गरेर सुतली बम पड्काएको भन्ने जानकारीमा आएको उपरीक्षक विसीले भन्नुभयो ।

१८ जना विप्लव कार्यकर्ता

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका १८ जना कार्यकर्तालाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको छ । आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

जंगलमा विस्फोटक पदार्थ

मोरङको केराबारी गाउँपालिका ९ देवी झोडा जंगलबाट प्रहरीले ठुलो परिमाणको विस्फोटक बस्तु बरामद गरेको छ । सामुदायिक वन भित्र ४ वटा सकेट र ४ वटा गृनेट बम फेला परेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । मोरङको १ नम्बर निर्वाचन क्षेत्र (ख) का प्रदेशसभाका समानुपातिक उमेदवार राम कार्कीको घर नजिक केरावारी ९ स्थित धारामा पनि सकेट बम फेला परेको छ । बम कसले राखेको खुल्न सकेको छैन ।

 

Share It

Post Comments
थप समाचार