समाचार चुनावी मैदानमा पत्रकार दाजुभाइ
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १२ –यही मंसिर २१ गते हुने चुनावमा एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा ओर्लिएका छन् ।

नेपाल मजदुर किसान पार्टीमा बसेर ५० वर्षभन्दा बढी समय राजनीति गर्नुभएका नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईका जेठा छोरा सरोजराज गोसाईले क्षेत्र नम्बर १ प्रदेश (ख) बाट र माहिला छोरा सुरेन्द्रराज गोसाईले क्षेत्र नम्बर २ प्रदेश (क) बाट उम्मेदवारी दिनुभएको हो ।

सरोजराज भक्तपुरबाट प्रकाशित मजदुर दैनिकका कार्यकारी सम्पादक, वासु उमावि व्यवस्थापन समितिका अध्यक्ष एवं ख्वप कलेजका प्राध्यापक हुनुहुन्थ्यो भने भने सुरेन्द्रराज अनलाईन मजदुरका सम्पादक एवं बाल विकास इंग्लिस स्कुलका प्राध्यानाध्यापक हुनुहुन्थ्यो ।

वि‍सं २०३० मा जन्मनुभएका सरोज र २०३६ सालमा जन्मनुभएका सुरेन्द्रले २०४६ सालको पञ्चायतीविरुद्धको आन्दोलनमा विद्यार्थी क्षेत्रबाट सक्रिय रहँदै राजनीतिमा आउनुभएको हो ।
नेमकिपाका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्दै केन्द्रीय सदस्य हुनुभएका उहाँहरूलाई पार्टीले टिकट दिएपछि शैक्षिक र लामो समयको पत्रकारिता पेशालाई थाती राखेर चुनावी मैदानमा उत्रिनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका संस्थापक सदस्यसमेत हुनुभएका सरोजराज भक्तपुर क्षेत्र नं २ (ख) सूर्यविनायक प्रदेशबाट प्रदेशसभा सदस्यको उम्मेदवारी पछि घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी दाजुभाइ सानै हुँदा घरमा गोप्यरुपमा पञ्चायतविरुद्ध मोर्चाबन्दी बनेकाले राजनीतितर्फ आकर्षित भइयो । पत्रकारितालाई पनि निरन्तरता दिँदै आइयो, अहिले पार्टीले जिम्मेवारी सुम्पेको छ, त्यो जिम्मेवारी बहन गर्न जनताको साथ र सहयोग माग्दै हिँडेको छु ।’
उहाँ उम्मेदवार भएको क्षेत्रमा प्रदेशसभातर्फ नेकपा (एमाले) का शशीजंग थापा, नेपाली कांग्रेसका अंगद खड्कासँग कडा प्रतिस्पर्धा हुने भएको छ । सबैले आआफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा गोसाई पनि समाजवाद स्थापना र गरिबी उन्मूलनको लक्ष्य लिएर मतदातासँग भोट मागिरहेको बताउनुहुन्छ ।

प्राध्यापनका साथै नेमकिपाको विभिन्न संगठनको नेतृत्व गर्दै हाल एक विद्यालयको प्राध्यानाध्यापक र अनलाइन मजदुरको सम्पादक भएर कार्य गरिरहनुभएका सुरेन्द्रराज पनि क्षेत्र नम्बर (ख) भक्तपुर प्रदेशको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेमकिपाको पक्कड रहेको र हालसम्म एकलौटी रुपमा नेमकिपाले विजय हासिल गर्दै आएको यो क्षेत्रमा उहाँसँग प्रतिस्पर्धाका लागि वाम गठबन्धनबाट रोमन शिलाकार र नेपाली काँग्रेसबाट अनिल भुजु पनि चुनावी मैदानमा हुनुहुन्छ ।

यो प्रदेशमा नेमकिपाको किल्ला भत्काउन सबै दललाई मुस्किल पर्ने देखिएसँगै गोसाईको जित सुनिश्चित रहेको चर्चा चल्दै गर्दा उहाँले भने यस प्रदेशको विकासका लागि आफू प्रतिबद्ध भएर लागिरहने बताउनुहुन्छ ।

Share It

Post Comments
थप समाचार