समाचार दमननाथ र ओली निवासको बीचमा बम विष्फोट
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १२ – सूर्यविनायक नगरपालिका २ बालकोट रोज भिलेज नजिक मंगलबार साझ करिब ७ : २५ बजे बम विष्फोट भएको छ ।

नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुङ्गाना बस्दै आउनु भएको बालकोटको रोज भिलेजबाट करिब १०० मिटर पर बम विष्फोट भएको हो ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले भन्नुभयो—‘बालकोटको रोज भिलेज भन्दा एक डेढ सय मिटर वर जग्गा प्लानिङ्ग भएको क्षेत्रमा बम विष्फोट भएको छ, विष्फोट लगत्तै घट्नाको अनुसन्धान सुरु गरेर बम विष्फोट गराउने व्यक्तिको चारैतिर खोजी कार्य भईरहेको छ ।’

विष्फोटबाट कुनै मानवीय एवं भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि ढुङ्गाना रोज भिलेजमा घर भाडामा लिएर बस्दै आउनु भएको छ ।

स्थानीय ज्ञानराम श्रेष्ठका अनुसार ठूलो आवाज गरेर बम विष्फोट भएको हो । उहाँले भन्नुभयो—‘बम विष्फोट भएको ठाउँबाट एक सय मिटर नजिक कांग्रेस उम्मेदवार ढुङ्गाना बस्नु हुन्छ, तीन सय मिटर नजिकै थिमीको सिमानामा प्रदेश नम्बर २ (ख) का एमाले प्रदेशसभा उम्मेदवार राजेन्द्रमान श्रेष्ठ बस्नुहुन्छ, चारसय मिटर पर एमाले अध्यक्ष केपी शर्मा ओली बस्नु हुन्छ, यो आतंकित पार्ने प्रयास हुनुसक्छ ।’
प्रहरीले विष्फोट भएको प्रेसर कुकर बम वा पाईम बम हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार