समाचार भक्तपुरका मतदाता भन्छन् – यसपल्ट कसरी भोट हाल्ने थाहा छैन
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १३ – दोश्रो चरणको चुनाव हुने दिन आउन अब एक हप्ता मात्रै बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक चुनाव हुने भएकाले मतदाताले तीन वटा मतपत्रमा चार भोट लगाउनु पर्छ । तर तीन वटा मतपत्रमा चार भोट कसरी हाल्ने भन्ने बारे मतदाता अझै अन्योलमा छन् ।

आफूले हालेको मत खेर जाने चिन्ता उनीहरुमा छ । प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल तीनवटा मतपत्रमा चार ठाउँमा मतदान कसरी गर्ने भन्ने अन्योलमा रहेको बताउनुहुन्छ । कतिपय मतदातालाई कुन मतपत्र कसलाई भोट हाल्न भन्ने पनि प्रष्ट छैन ।

निर्वाचन आयोगले देशब्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्न गाउँ टोलमा टोली खटाए पनि प्रभावकारी हुन सकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुन नसक्दा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको गुनासो मतदाताको छ ।

सूर्यविनायक नगरपालिका –१, सिरुटारकी प्रतिमा श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्यौल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘भोट हाल्ने दिन नजिक आइसक्यो, कसैले तीनवटा भोट हाल्नुपर्छ भन्छन्, कसैले चारवटा, तर कति पटक कसरी भोट हाल्ने भन्ने कुरा जानेकै छैन ।’

भक्तपुर नगरपालिका –१, दूधपाटीका सरोज सुवालको भनाई पनि यस्तै छ । ‘पहिला पनि भोट हालेकै हो, अहिले पनि भोट हालांैला, तर कुन भोट कुन पदका लागि त्यो थाहा छैन, भोट हाल्ने ठाउँमै सोध्नु पर्ला’, उहाँले भन्नुभयो । मतदातालाई भोट हाल्ने ठाउँमा केही सोध्न पाइँदैन भन्ने पनि थाहा छैन । यस्तो बेलामा मत बदर हुने सम्भावना बढी हुन्छ । स्थानीय तहको चुनावमा एउटै मतपत्रमा सात वटा छाप लगाएका मतदातामध्ये कतिपयले यसपटक पनि यस्तै होला भन्ने बुझेका छन् ।

चाँगुनारायण नगरपालिका –३ का कोपिला खड्काले एउटै मतपत्रमा चार वटा छाप लाउने भन्ने आफूले बुझेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भोट हाल्न त आइहाल्छ नि, स्थानीय चुनावमा एउटै मतपत्रमा सात ठाउँमा छाप लगाएँ, अहिले चार ठाउँमा लाउनुपर्छ भन्ने सुनेको छु, त्यसै गर्छु ।’

दलका नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर पनि कसरी मतदान गर्ने, कतिवटा मतपत्र हुन्छ, कतिवटामा छाप लगाउने भन्ने जानकारी मतदातालाई गराएका छैनन् । नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले मतदाता शिक्षा प्रभावकारी रुपमा घरदैलोमा नपुगेको बताउँदै यसमा बजेट सदुपयोग हुन नसकेकाले यसको जिम्मा दलले पाउनुपर्ने माग गर्नुभयो ।

एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला पनि चुनाव प्रचार र घरदैलोमा व्यस्त नेता कार्यकर्ताले मतदातालाई भोट हाल्न नसिकाएको बताउँदै मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । नेमकिपा भक्तपुरका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार सरोजराज गोसाई भने आफ्नो पार्टीले चुनावप्रचारसँगै मतदाता शिक्षा पनि दिएको बताउनुहन्छ । मतदाता शिक्षा भन्दा पनि दलहरुले आफैले भोट हाल्न सिकाउँदा मत बदर हुने सम्भावना कम हुने उहाँको भनाई छ ।

यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनोसो आएपछि खटिएका टोलीलाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिन निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस जिल्लाका लागि २ सय ९ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेका छाै, घरघरमा गएर नमूना मतपत्रमा मतदान गर्न सिकाउन निर्देशन दिएका छौं, दलका प्रतिनिधिले पनि मतदाता शिक्षामा सहयोग गर्न आवश्यक छ ।’

निर्वाचन आयोगले आउँदो २१ गतेको चुनावका लागि तीन रंगका मतपत्र छपाई गरेको छ । पहिलो हरियो रंगको मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको एउटा चिन्हमा, दोश्रो कालो रंगको मतपत्रमा आफूले रोजेको प्रदेशसभा सदस्यका लागि एउटा चिन्हमा र तेश्रो पटक रातो मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ माथिल्लो भागमा रहेको चुनाव चिन्हमा र प्रदेशसभातर्फको समानुपातिकका लागि तल्लो भागमा रहेको आफूले चाहेको दलको चुनाव चिन्हमा भोट हाल्नुपर्छ ।

हरियो र कालो मतपत्रमा एक भन्दा बढी छाप लगाए रद्ध हुने र रातो मतपत्रमा माथि र तल फरक फरक कोठामा एकएक वटा चिन्हमा छाप लगाउनुपर्छ भनेर बुझाउनु आवश्यक रहेको उहाँको भनाई छ । मतदान गरेपछि मत खसाल्ने क्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत निर्धारित बाकसमै खसाल्नु पर्छ । अन्य बाकसमा खसाले त्यस्तो मत समेत बदर हुने भएकाले मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने प्रमुख राईले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार