समाचार मतदाता शिक्षा कार्यकर्ताको गुनासो : जिते ठुस्किन्छन्, हारे सिकाउनेले बिगारे भन्छन्
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर १४ – पाल्पाका मतदाता शिक्षा कार्यकर्ताले राजनीतिक दलका नेता कार्यकर्ताबाट दुर्व्यवहार बेहोर्नु परेको गुनासो गरेका छन् । स्वच्छ मनले मतदाता शिक्षा कार्यक्रम सम्पन्न गर्दा पनि आफूहरुले हब्की दब्की खानुपरेको उनीहरुको भनाई छ ।

२०७० सालको संविधानसभा सदस्य चुनावमा पाल्पा क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति समेत रहेका वीरबहादुर राना पराजित भएपछि कांग्रेसका स्थानीय नेताले आफूलाई दुर्व्यवहार गरेको बताउनुहुन्छ बगनासकाली–७ की मतदाता शिक्षा कार्यकर्ता अन्जना शर्मा । ‘घाँस खाएकाहरुले भोट दिन सिकाउँदा हारिएको भन्दै गाली गरे’ शर्माले भन्नुभयो ‘स्थानीय तहको चुनावमा गाउँपालिका जितेका तिनै कांग्रेसका नेता ठुस्किए, बोलेनन् ।’

पार्टी हारेपछि स्थानीय शिक्षकले समेत आरोप लगाएर गाली गरेको भन्दै स्थानीय तहको चुनावमा पनि गाली खाने क्रम नरोकिएको शर्माको दुखेको छ । आफूहरुले कुनै पार्टीलाई छानेर भोट देउ र नदेउ भनेर कहिल्यै नभने पनि आरोप लगाउने क्रम नरोकिएको बगनासकाली–६ की मतदाता शिक्षा  कार्यकर्ता राधिका खनालले बताउनुभयो ।

स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष देवी बस्याल पराजित भएपछि स्थानीय कार्यकर्ताको गाली खाएको खनालको भनाई छ । भोट दिएर के हुन्छ ? भन्दै प्रश्न गरिरहेका छन्, आउने २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा मतदाता शिक्षा दिँदै घरदैलो अभियानमा रहनुभएकी खनालले भन्नुभयो ‘भो सिक्नु परेको छैन, जितेका नेताले केही गर्ने वाला छैनन’ भनेर उल्टै हामीलाई हर्काछन् ।

स्थानीय तहको चुनावमा मतदाता शिक्षा कार्यकर्ताको जिम्मेवार पूरा गर्नुभएकी निस्दी गाउँपालिका गल्धा पाल्पाकी बिनिता फालको पनि नमिठो अनुभव छ । मतदाता शिक्षा लिएर घरदैलो गर्दा बिनितालाई अर्को पार्टीलाई भोट हाल्न सिकाएछौ भनेर आरोप लगाउँछन् । बिनिताले भन्नुभयो ‘हारेका पार्टीका नेताले हातै हाल्न आउँछन्, जितेकाहरु बोल्दै बौल्दैनन् ।’

Share It

Post Comments
थप समाचार