समाचार मतदाता शिक्षा प्रभावकारी बनाउन तेह्रथुममा नमुना मतदान
Ujyaalo

तेह्रथुम, मंसिर १४ – मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि तेह्रथुममा मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदान गराइएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका विभिन्न बजारमा नमुना मतदान गराएको हो ।

बदर मतलाई कम गराउन जिल्लाका मोराहाङ, म्याङलुङ्ग र पोक्लाबाङ बजारमा नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरि नै मतदाता शिक्षा कर्मचारी खटिएकाले नमुना मतदानका क्रममा कतैपनि मत बदर भएको छैन ।

छवटा स्थानीय तहमा ४३ वडा रहेको तेह्रथुमका ५७ स्थलमा ८९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कर्मचारी पर्नेगरी मतदाता शिक्षा परिचालित गरिएको निर्वाचन अधिकारी राईले बताउनुभयो ।

यसैबिच मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । कार्यालयले जिल्लाका ८९ मतदान केन्द्रमा ७ सय ११ जना कर्मचारी खटाएको जनाएको छ । त्यसमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरी मतदान केन्द्रतर्फ खटाउने तयारी गरेको सहायक निर्वाचन अधिकृत अम्बिकाप्रसाद दाहालले बताउनुभयो । तेह्रथुममा प्रतिनिधिसभा सलस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार