समाचार कांग्रेस सरकार बने पाँच वर्षमा हुलाकी लोकमार्ग पूरा : देउवा
Ujyaalo

सिरहा, मंसिर १४ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले आउँदो चुनावमा वहुमत ल्याए नेपालको दक्षिणी भेगमा रहेको हुलाकी लोकमार्गलाई पाँच वर्षभित्र पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को आयोजनामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हुलाकी लोकमार्गले पूर्णता नपाउँदा दक्षिणको विकास हुन नसकेको बताउँदै नेपाली कांग्रेसको अबको सरकारले हुलाकी लोकमार्गलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

वाम गठबन्धनले अनेक नारा र आश्वासन दिएर जनतालाई झुक्याउने प्रयास गरिरहेको भन्दै उहाँले वाम गठबन्धनको शासनले एकदलीय अधिनायकवादी शासन मात्र लाद्ने जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मधेशीको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव असफल बनाएर नेकपा एमालेले मधेशी जनताको भावनामा खेलवाड गरेको बताउनुभयो ।

उद्योगपती विनोद चौधरीले नेपाली कांग्रेसले मात्र विकास निर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू कांग्रेसको प्रचारमा लागेको बताउनुभयो ।

Share It

Post Comments
थप समाचार