समाचार प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यबस्था कडा
Ujyaalo


डोटी, मंसिर १५ –नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डोटीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउने भएपछि डोटीको सुरक्षा व्यबस्था कडा पारिएको छ । नेपाली कांग्रेसले डोटीको बोगटान गाउँपालिका –७ चवराचौतारामा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार डोटी आउने कार्यक्रम रहेको छ ।

नेत्रबिक्रम चन्द विप्लब (नेकपा) को केही पहुँच रहेको क्षेत्र मानिने यस ठाउँमा प्रधानन्त्रीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा ठुलो संख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रधानमन्त्री देउवाले नै सम्बोधन गर्ने डोटीको सायल क्षेत्रमा हुने कार्यक्रमका लागि पनि ठुलो संख्यामा सुरक्षाकर्मि परिचालन गरिएको छ । सायल क्षेत्रमा प्रधानमन्त्री आउनु हुने भएपछि डोटीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरु सो क्षेत्रमा पुगिसकेका छन् ।

प्रधानमन्त्रीको कार्यक्रममा कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उता डोटीमा वामगठबन्धनका नेता कार्यकता भने नेपाली कांग्रेसले आचारसंहिता विपरित चवराचौतारा तथा सायल क्षेत्रमा स्कुल नै कब्जागरी चुनावी कार्यक्रम गर्न थालेको भन्दै आक्रोसित भएका छन् ।

कांग्रेसले चुनाव आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरेको भन्दै वामगठबन्धनले जिल्ला प्रशासन कार्यालय डोटी तथा निर्वाचन आयोगमा उजुरी समेत दिएको छ ।

 

Share It

Post Comments
थप समाचार