समाचार यस्ता उम्मेदवार जसलाई चुनावले छोएकै छैन
Ujyaalo

गोविन्द शर्मा /उज्यालो ।

बाँके, मंसिर १५ –उम्मेदवार मात्रै होइन, समर्थकलाई पनि चुनाव लागेको बेला बाँकेमा भने एकजना उम्मेदवारलाई चुनावले छुन सकेको छैन् । देशभक्त गणतान्त्रिक मोर्चाबाट बाँकेका क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेदवार दिनेश श्रीवास्तव दैनिक आफूले काम गर्ने कार्यालय नेपालगन्ज डेन्टल अस्पतालमा पुग्नुहुन्छ ।

अरु उम्मेदवार र समर्थक भोट माग्न घरदैलोमा खटिएको बेला श्रीवास्तवलाई भने नेपालगन्ज डेन्टल अस्पतालमा काम गरिरहेको अवस्थामा भेट्न सकिन्छ । बिहान चियापसलमा भेट्दा श्रीवास्तवलाई उम्मेदवार भएको चिन्नेहरुले भोट माग्ने होइन भनेर सोध्ने गर्छन । तर श्रीवास्तवलाई यस्ता कुराले छोएको छैन् ।

‘साथीभाईले मेरो भोट मागिराख्नुभएको छ’, नेपालगन्जमा एक चियापसलमा भेटिएका श्रीवास्तवले भन्नुभयो, ‘मलाई चिन्नेहरुले भोट दिनुहुन्छ, किन घरदैलो गर्दै हिँड्नु ?’ श्रीवास्तव आफू चुनाव जित्नु भन्दा पनि भण्डाफोरका लागि उठेको बताउनुभयो । उहाँले आफूले मतदानको दिनसम्म कुनै पनि प्रचारप्रसार नगर्ने बताउनुभयो ।

पार्टीका नेता कार्यकर्ताहरुले सुरुवाती दिनमा भोट माग्न आग्रह गरे पनि आफू नगएपछि अहिले बोलाउन नै छोडेको श्रीवास्तवको भनाई छ । पार्टीले मुल्यांकन गरेर आफूलाई प्रदेशसभाको सदस्यमा उठाएको बताउदै श्रीवास्तवले भन्नुभयो, ‘म उम्मेदवार बन्नुभन्दा अगाडि जे जस्तो थिए र गर्थे अहिले पनि उस्तै काम गरिरहेको छु ।’

श्रीवास्तव मोहन वैद्य सम्वद्ध नेपाल क्रान्तिकारी माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ बाँकेको अध्यक्षसमेत हुनुुहुन्छ ।

Share It

Post Comments
थप समाचार