समाचार पहिलो चरण चुनावका लागि दलहरु अन्तिम तयारीमा
Ujyaalo

काठमाडौं, मंसिर ६ – आउँदो आइतबार हुने पहिलो चरणको चुनावका लागि दलहरु अन्तिम तयारीमा जुटेका छन् । शुक्रबारदेखि मौन अवधि सुरु हुने भएकाले दल र उम्मेदवार प्रचारको अन्तिम तयारीमा जुटेका हुन् ।

मौन अवधि सुरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् । चुनावका लागि गाउँ गाउँ पुगेका उम्मेदवारले मतदाताको घर घरमा पुगेर भोट माग्न थालेका छन् । यसैबिच वाम गठबन्धनले बुधबार बुटवलमा आमसभा गर्दैछ ।

रुपन्देहीमा वाम गठबन्धनका उम्मेदवार चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका हुन् । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सक्रिय छन् । यस्तै चुनावी सभामा भाग लिन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार रुकुम र रोल्पा जाँदै हुनुहुन्छ ।

यसैबिच निर्वाचन आयोगले पहिलो चरणको चुनाव हुने प्रदेशमा चार दिन स्कूल बिदा हुने जनाएको छ । चुनावको दिन १० गते यी क्षेत्रमा सार्वजनिक बिदा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार