समाचार जोगी महिला भन्छन् : सामुदायिक भवन बनाइदिनेलाई भोट
Ujyaalo

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, मंसिर १५– कम पुरुष र बढी महिलाको बसोबास रहेको गाउँ हो, तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङको मेहेलेस्थित जोगी बस्ती । यो गाउँमा धेरै जोगी र थोरै अन्य जातका मानिसहरु बसेका गर्छन् ।

जोगी समुदायका अधिकांश पुरुष पैसा कमाउन विदेश जाने गर्दछन् ।गाउँमा बसेका महिलाहरु पनि बल्ल सामाजिकीकरणतर्फ लम्किदैछन् । परम्परागत रुपमा वर्षका तीन–चार महिना फेरी लगाउँदै डुल्ने र जम्मा भएको अन्नपात र रुपैयाँले घर धान्ने जोगी समुदाय अहिले व्यवसायिक, शिक्षित र उद्यमशील समेत बन्दैछन् ।

पुरुषहरु विदेश गए पनि गाउँमा रहेका महिलाको उद्यमशीलता प्रशंसालायक छ । जोगी महिलाहरुले गाउँमा महिला समूह स्थापना गरेर विभिन्न संघसंस्थाको सहयोगमा व्यवसायिक बन्न प्रयत्न गरिरहेका छन् ।

जोगी बस्तीमा गठन भएको पाथीभरा महिला समूहले गाउँमै ‘सामुदायिक शिशु हेरचाह केन्द्र’ समेत सञ्चालन गरेका छन् । अहिले देशैभरि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको चहल पहल भइरहँदा सो समूहका महिला त्यही सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन बनाउन व्यस्त छन् । 

ढुंगा, माटो र काठपात संकलन गर्न आफै उत्रिएका महिलाले गाउँमा भोट माग्दै पुग्ने नेता र उम्मेदवारलाई आफूहरुको त्यही भवन बनाउन सहयोग गर्नेलाई भोट दिने बताएका छन् । ‘गाउँमा हामीलाई नेता हुनु छैन, चुनाव आयो रे भन्छन्, तर यता खास चहल पहल छैन,’ भवन निर्माणस्थलमै भेटिएकी समुह अध्यक्ष मालती जोगीले भन्नुभयो, ‘हामी समुहमा हुने यहाँका महिलाले त यो भवन बनाउन सहयोग गर्नेलाई भोट दिने निर्णय गरेका छौँ ।’ 

यसअघिको चुनावमा पनि जोगी गाउँमा नेताहरु भोट माग्न नपुगेका हैनन् । उनीहरुले अन्यत्र जस्तै धेरै आशा देखाउदै राजनीतिक गफ त चुटे, तर त्यसले जोगी बस्तीलाई खासै लाभ मिलेको छैन । गाउँसम्म सडक पुगेको छैन । जोगी बस्तीका बालबालिकाहरु अहिले पनि १२–१४ वर्ष पुगेपछि विद्यालय छाडेर घरै बस्छन् । केटाहरु नागरिकता बनाएर विदेश लाग्छन् । केटीहरु बिहे गरेर घरजम थाल्छन् । 

चुनावपछि जोगी बस्तीलाई केही लाभ नहुने भएपछि आफूहरुले तत्कालको आवश्यकतालाई हेरेर माग राख्ने र भोट दिने निर्णय गरेको अध्यक्ष जोगीले बताउनुभयो । ‘भोट माग्न त यहाँ पनि आए, तर हामीले भवन निर्माणका लागि सहयोग माग्यौँ,’ अध्यक्ष जोगीले भन्नुभयो, ‘अब हेरौ, जसले सहयोग गर्छ, विश्वास लाग्छ, उसैलाई भोट दिने हो ।’ गाउँका सबै जोगी घरधुरीहरु समूहमा सदस्य भएकाले समूहको एउटै निर्णयले भोट दिने उहाँको भनाई छ । 

समूहले सञ्चालन गरेको सामुदायिक शिशु हेरचाह केन्द्रमा जोगी बस्तीका ३ वर्षभन्दा कम उमेरका बालबालिकाको हेरचाह गरिन्छ । दैनिक १० बजेदेखि ३–४ बजेसम्म बच्चाहरु हेरचाह केन्द्रमा राखिन्छन् । केन्द्रमा बच्चाहरु राखेपछि आमाहरुले व्यवसायिक अकबरे खेती गरेका छन् । तरकारी, फलफूल र अन्य बालीको खेती गरेका छन् । 

हेरचाह केन्द्रमा एक जना हेरालु राखिएको छ । शिशु हेरचाह केन्द्र सञ्चालनका लागि भवन निर्माण गर्नुपर्ने जोगी बस्तीका महिलाको अहिलेको आवश्यकता छ । गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने आवश्यकता पनि छ । तर उनीहरुले अहिले सामुदायिक भवन नै प्राथमिकतामा राखेका छन् ।

‘हाम्रो सबैको एउटै निर्णय हो, जसले यो सामुदायिक भवन बनाउन सहयोग गर्छ, हामी उसैलाई भोट दिने,’ समूहकी सदस्य तुलमाया जोगीले बताउनुभयो । जोगी बस्तीका महिलालाई संगठित गरी व्यवसायतर्फ आकर्षित गर्न जिल्लाको गैरसरकारी संस्था देउराली सोसाइटीले सञ्चालन गरेको स्थानीय अधिकार कार्यक्रमले सहयोग गरेको छ ।

महिलाहरुको बिना पारिश्रमिकको कामको बोझलाई घटाउँदै उनीहरुलाई पनि आयआर्जनको काममा सहभागी गराउने र महिलामाथि हुने हिंसा कम गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालित छ । कार्यक्रमको सहयोगमा आफूहरुको आँखा खुलेको जोगी महिलाहरु बताउँछन् ।

श्रीमानले फेरी लगाएर जम्मा गरेको दुई–चार पैसाले घर चलाउदै आएका उनीहरुमध्ये धेरैले अहिले आफ्नै कमाईले घर चलाएका छन् ।शिशु हेरचाह केन्द्रले गाउँका महिलालाई धेरै सहयोग पुगेको स्थानीय सुर्यबहादुर जोगीले बताउनुभयो । ‘हाम्रो एउटै माग छ, शिशु हेरचाह केन्द्रका लागि भवन बनाउन सहयोग गर्नुस्, त्यसपछि हामी भोट दिन्छौँ ।’ उहाँले भन्नुभयो ।

शिशु हेरचाह केन्द्रको भवन निर्माणका लागि जिल्ला विकास समितिले ४० हजार, गाउँपालिकाले ६० हजार र देउराली सोसाइटीले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । केही रकम जुटेपछि भवन बनाउन थालेका महिलाले त्यति मात्र रकमले भवन बनाउन नपुग्ने बताएका छन् ।

अन्य दाताहरुले समेत भवन बनाउन सहयोग गर्ने भनेपछि सबैबाट रकम प्राप्त नभएपछि भवन निर्माणको काम सम्पन्न गर्न समस्या भएको देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर आम्बुङले बताउनुभयो । 

जिल्लामा देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहजीकरणमा जिल्लाभर एक दर्जन बढी शिशु हेरचाह केन्द्र सञ्चालनमा छन् । सबैले भवन निर्माणको आवश्यकता महसुस गरेका छन् । तर केन्द्रका लागि अहिले नै सरकारबाट अपनत्व नभएको र बजेटको अभाव रहेको छ । उनीहरुमध्ये धेरैले यो चुनावमा भवन निर्माणको माग गर्दै आएका छन् ।

Share It

Post Comments
थप समाचार