समाचार निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ लागे कर्मचारी
Ujyaalo

डोटी, मंसिर १६ – यहि मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी डोटीका मतदानस्थल र केन्द्र तर्फ हिँडेका छन् ।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु शुक्रबार मतदान केन्द्र तिर लागेको डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र समेत लगेर गएका छन् । डोटीमा ९० मतदानस्थल र १५७ वटा मतदान केन्द्र तोकिएको छ । चुनाव सम्पन्न गराउनका लागि १५७ जना मतदान अधिकृत, १५७ जना सहायक मतदान अधिकृतसहित १ हजार ३ सय अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।

२ नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीमा कुल मतदाता संख्या १ लाख ६ हजार ५ सय ४३ रहेको छ । ती मध्ये ५७ हजार ४ सय महिला तथा ४९ हजार १ सय ४३ जना पुरुष मतदाता रहेका छन् । प्रदेशसभा (क) मा ५८ हजार ५ सय ४ र (ख) मा ४८ हजार ३९ मतदाता छन् । डोटीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १७ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

 

Share It

Post Comments
थप समाचार