समाचार समृद्धीका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक— कांग्रेस नेता श्रेष्ठ
Ujyaalo

भक्तपुर, मंसिर १६ – नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री प्रकाशमान श्रेष्ठले लोकतन्त्र र देशको समृद्धीका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार मध्यपुरथिमिको चपाचोमा आयोजना भएको लोकतान्त्रिक युवा भेलामा बोल्दै उहाँले विश्वबाट पतन भएको साम्यवादको नेपालमा भविष्य नरहेका भन्दै कम्युनिष्ट सफल नहुने दाबी गर्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै कांग्रेसको नेतृत्व मै नयाँ सरकार गठन हुने बताउनुभयो ।

युवा परिचालन समितिका जिल्ला संयोजक अष्ट कवेले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दै सफल रुपमा संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले विजयी हासिल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगाना, पार्टीका पूर्व सभापति एवं मध्यपुर थिमि प्रदेशका उम्मेदवार गंणेशमान चक्रधर, कांग्रेस नेता महेश श्रेष्ठ, कांग्रेस नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेता हरिदाश प्रजापति, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य सुरेन्द्र केसी लगायतका वक्ताले लोकतान्त्रिक संविधान जारी गर्न कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराएर समृद्धीको अभियान सफल तुल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातानित्रक) ले कांग्रेसलाई सघाउँने घोषणा गरेको छन् । त्यसअवसरमा राप्रपाका जिल्ला अध्यक्ष एवं पूर्व राज्यमन्त्री दिनेश श्रेष्ठले प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरेर सघाउने र समानुपातिकमा राप्रपालाई कांग्रेसले मतदान गरेर सघाउने बताउँनुभयो ।

Share It

Post Comments
थप समाचार