समाचार कर्णालीका ७४ प्रतिशत मतदान केन्द्र अतिसंवेदनशील र संवेदनशील
Ujyaalo

जुम्ला, मंसिर ६ –कर्णालीका ७४ प्रतिशत मतदान केन्द्रहरु अति संवेदनशील र संवेदनशीलको सूचिमा परेका छन् ।

कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटका ७४ प्रतिशत मतदान केन्द्रहरु सुरक्षाको दृष्टिकोणले अति संवेदनशील र संवेदनशीलको सूचिमा परेका हुन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार ५ जिल्लामा रहेका ३ सय ७७ वटा मतदान केन्द्रमध्ये २ सय ७९ वटा मतदानकेन्द्र अति संवेदनशील र संवेदनशीलको सूचिमा परेका छन् ।

जुम्ला

जुम्लाका ७६ वटा मतदानस्थलका ९० वटा मतदान केन्द्रमध्ये ४७ वटा मतदान केन्द्र अति संवेदनशील, १६ वटा संवेदनशील र २७ वटा सामान्य मतदान केन्द्रको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कालिकोट

कालिकोटका १ सय ९ मतदान केन्द्रहरुमध्ये ६८ वटा अति संवेदनशील, २९ वटा संवेदनशील र सामान्य २ वटा रहेका छन । त्यस्तै हुम्लाका ५२ मतदान केन्द्रहरुमध्ये १५ वटा अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् ।

मुगु

यसैगरी मुगुका ६० मतदान केन्द्रमध्ये १८ वता अति संवेदनशील, १९ वटा संवेदनशील र २३ वटा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी मुगुका सबै मतदान केन्द्रहरुमा निरीक्षण समेत गरिसकेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

डोल्पा

डोल्पामा ६६ वटा मतदान केन्द्रहरु मध्ये ३३ वटा संवेदनशील, १८ वटा अति संवेदनशील र १५ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सुरक्षा व्यवस्था कडा तयारी

भौगोलिक विकटताका आधारमा कर्णालीमा अधिकांश मतदान केन्द्रहरु अति संवेदनशील र संवेदनशीलको सूचिमा परेका छन् । सुरक्षाका दृष्टिकोणले धेरै मतदान केन्द्रहरु संवेदनशील भएको हुँदा कडा सुरक्षा व्यवस्थाको तयारी गरिएको छ । कडा सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रहरुमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत म्यादी प्रहरी तैनाथको तयारी थालिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जिल्ला स्तरमा दैनिक सुरक्षा निकाय प्रमुखहरुको बैठक समीक्षा भइरहेको र हालसम्म जिल्लामा शान्ति सुरक्षा प्रभावकारी भएको बताउनुभयो । सुरक्षा निकायहरुका प्रमुखहरुको सहभागितामा गठित सुरक्षा कमाण्डपोष्ट निकै क्रियाशील भइरहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुको शान्ति सुरक्षा निकै राम्रो भएको र सुरक्षा व्यवस्था व्यवस्थित बनाइएको बताउनुभयो । उहाँले निर्वाचन आयुक्त सुधिर शाह र क्षेत्रीय स्तरका सुरक्षा प्रमुखहरुसहितको टोलीले अनुगमन गरेको बताउनुभयो ।

हुुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रिजालका अनुसार उत्तरतिरका ६ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री लिन कठिनाई भएको र यसका लागि हेलिकप्टरको तयारी भइरहेको बताउनुभयो ।

Share It

Post Comments
थप समाचार