समाचार मतदाता परिचयपत्र नहुँदा पेन्सन पाउन समस्या
Ujyaalo

बैतडी, मंसिर १७ –भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि भारतीय पेन्सन लिइरहेका बैतडीका नागरिक समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाउँदा भारतीय पेन्सनधारी नेपालीलाई समस्या भएको हो ।

भारतीय बैंकले डिसेम्बर १५ तारिख अर्थात मंसिर २९ गते भित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यवधिक गर्न थालेपछि परिचय पत्र नहुँदा खाता नविकरण गर्न नसकेको भारतको बगांल प्रहरीबाट सेवा निवृत दशरथचन्द –७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताउनुभयो । मतदाता नामावलीको टोली घरमा आएको बेलापनि मतदाता परिचयपत्र नबनाएकाले अहिले समस्या भएको उहाँले बताउनुभयो ।

भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्ड लगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ भने नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो । नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा सुल्झिदै आएको भएपनि यसपटक मतदाता परिचय पत्र खोजेकाले समस्या परेको हो । भारतीय सेना तथा प्रहरीमा कार्यरत श्रीमानको पेन्सन लिने अधिकांश महिलाले मतदाता परिचय पत्र लिएका छैनन् ।

चुनाव नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केहि गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासनमा एकसय जना बढीले मतदाता परिचय पत्र बनाउने व्यवस्था मिलाउन आग्रह गरेको आचार्यले बताउनुभयो । ‘५०/६० जनाले यो समस्या बारे निवेदन दिएका छन् । १ सय बढिले मौखिक अनुरोध गरेका छन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।

प्रदेश नं. ७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिनेहरु २ हजार बढि छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिन सक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ ।

चुनाव नसकिएसम्म परिचयपत्र बनाउन नसकिने बारे भारतीय दुतावासको कल्याणकारी शाखामा पठाएको भारतीय पूर्व सैनिकको कार्यालय जिल्ला सैनिक बोर्ड महाकाली कार्यालय बैतडीका सेक्रेटरी नारायणबहादुर सिंहले बताउनुभयो । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले भने तत्काल फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य नहुँने जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार