समाचार अस्तित्व जोगाउन उम्मेदवारी साना दल
Ujyaalo

रमेश गिरी उज्यालो ।

भक्तपुर, मंसिर २१ – दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार – प्रसारमा साना दललाई सकस परेको छ । साना दललाई मतदातादेखि संचार माध्यमसम्मले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिता विपरितको प्रचारले साना दललाई सकस परेको गुनासो गरेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपालबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार शिवहरी खनालले साना दललाई प्रचार–प्रचारमा निकै समस्या परेको बताउँदै पार्टी अस्तित्व जोगाउनका लागि उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा साना दलले ठूला दलको दाँजोमा पैसा खर्च र्गा नसक्दा प्रचारमा पछाडि परेको बताउँदै उहाँले मिडिया र संचारकर्मी समेत ठूला दलका पछि लाग्दा साना दलको चुनावी कार्यक्रम ओझेलमा परेकोे गुनासो गर्नुभयो ।

विवेशशील साझा पार्टीबाट क्षेत्र नम्बर २ प्रदेश (ख) मा उम्मेदवारी दिनुभएका कालीचरण कार्कीले ठूला दलले आचारसंहिता उलंघन गरेर प्रचार गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ठूला र पैसा हुनेले यहाँ जे गर्दा पनि हुदोरहेछ, आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दा पनि कारबाही हुदैन, हामी साना दललाई प्रचारमा समेत समस्या परेको छ ।’

विवेशशील साझा पार्टी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तर्फका उम्मेदवार शशीबिक्रम कार्कीले ठूला दलले पैसा खर्च गरेर तडकभडकको प्रचार गरे पनि आफ्नो पार्टीले भने साईकल चढेर प्रचार गरेको बताउनुभयो । संघीय समाजवादी फोरमका क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर घजुःले साना दलका घोषणापत्र राम्रो भएपनि प्रचारमा कठिनाई भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ठूला दलले आचारसंहिता विपरित बजारभरी पोष्टरदेखि तुल र व्यानर सहित प्रचार गरेर एकलौटी प्रचारमा कब्जा गरेको गुनासो गर्नुभयो ।’ एकिकृत राष्ट्रिय जनता पार्टीकी क्षेत्र नम्बर २ (ख) प्रदेश सभा उम्मेदवार दुर्गा खत्रीले साना दललाई प्रचार–प्रसारमा कठिनाई भएको बताउनुभयो । पार्टीको अस्तित्व समाप्त नहोस भनेर चुनाव लडेको बताउँदै उहाँले प्रचार–प्रसारमा ठूला दलले एकछत्र रमज गर्दा साना दललाई समस्या परेको गुनासो गर्नुभयो ।

साना दलका उम्मेदवार हुन वा स्वतन्त्र उम्मेदवारले समेत प्रचार–प्रचार प्रभावकारी ढंगले गर्न नसक्दा मतदाता माझ पछाडि परेको बताएका छन् । कतिपय स्वतन्त्र उम्मेदवारले लहलहैमा उम्मेदवारी दिएपनि प्रचार–प्रसार गर्न नसक्दा चुनावबाटै अत्याश लागेको बताएका छन् ।

भक्तपुरमा विशेषगरि लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र नेमकिपाले व्यापक रुपमा घरदैलो, आमसभादेखि विभिन्न तरिकाले प्रचार–प्रसार तिब्र पारेपनि साना दल र स्वतन्त्र उम्मेदवारले भने प्रचार–प्रसार गर्न र आफ्ना चुनावी घोषणा पत्र जनता माझ प्रभावकारी रुपमा लैजान नसक्दा पछाडि परेका छन् ।

 

Share It

Post Comments
थप समाचार