समाचार कांग्रेस र नेमकिपाले आलोपालो गर्दै आएको भक्तपुरमा यसपाली एमालेले बाजी मार्ला ?
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १७ – प्रजातन्त्रको उदयपछि २०४७ सालदेखि २०७० सालसम्मको संसद एवं संविधानसभा चुनावमा नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टीले आलोपालो विजय हासिल गर्दै आएको भक्तपुर क्षेत्र नं. २ मा यसपटक भने कसले बाजी मार्ला ? भन्ने चौतर्फी चासो बढेको छ ।

२०७० सालको चुनावसम्म आईपुग्दा तेश्रो दलको रुपमा उभिएको एमाले यी दुबै दलको आलोपालो किल्ला भत्काउने घोषणा गर्दै अगाडि बढेपछि सर्बत्र चासोको विषय बनेको हो । यसअघिको संविधानसभा चुनावसम्ममा नेपाली कांग्रेस र नेमकिपाले एमाले प्रतिष्पर्धा गर्ने पार्टी होइन भन्ने गरेपनि यसपल्टको चुनावमा भने दुबै दलले मुख्य प्रतिष्पर्धी दलका रुपमा वाम गठबन्धनका उम्मेदवारलाई लिएपछि चर्चा चुलिएको हो ।

भक्तपुर क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता, पूर्वसभामुख, कानूनविद एवं पाका उमेरका दमननाथ ढुङ्गाना, वामगठबन्धनबाट पूर्वमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेत र नेमकिपाबाट पूर्वसांसद एवं नेमकिपाको युवा नेत्री सुश्री अनुराधा थापामगरबिच कडा प्रतिष्पर्धा हुने भएको छ ।

२०४८ सालको चुनावमा यसक्षेत्रबाट नेपाली कांग्रेसका जगन्नाथ आचार्यले, २०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले, २०५६ मा कांग्रेसकै लेखनाथ न्यौपानेले, २०६४ मा नेमकिपाका सुनिल प्रजापतिले र २०७० को चुनावमा कांग्रेसका रामेश्वर ढुङ्गेलले विजयी हासिल गरेका थिए । तर यसपटकको चुनावमा भने एमाले पनि मुख्य प्रतिस्पर्धी दलका रुपमा अगाडि बढेपछि २ नं. क्षेत्रमा कसले बाजी मार्ला भन्ने चासो आममतदाता, विभिन्न दल र नेताहरुमा परेको छ ।

उमेरले ७६ वर्ष पुगेका कांग्रेसका उम्मेदवार ढुङ्गानाले मतदातामाझ आफूलाई कुचिकार उम्मेदवारका रुपमा उभ्याउनु भएको छ । उहाँले राजनीतिमा साह्रै फोहोर बढेकाले संसदमा बसेर त्यसलाई सफा गर्न राजनीतिक कूचो लिएर आएको सफाई उम्मेदवार भएको बताउनुहुन्छ । ढुङ्गाना भन्नुहुन्छ “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोर सफाई गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाई गर्न कूचो बोकेर आएको कुचिकारका रुपमा हो, म पहिला राजनीति सफाई गर्छु, अनि विकास ।”

४१ वर्षका युवा नेता एमालेका महेश बस्नेतले भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेससँग पराजित भएका बस्नेत अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँचवर्षमा भक्तपुरलाई चौतर्फी विकास गर्ने एजेण्डा बोकेर मतदाता माझ आएको बताउनुहुन्छ ।

बस्नेत भन्नुहुन्छ—“भूकम्पमा घर भत्किएका ६ हजार भन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाईदिएर सहयोग गरे, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योग मन्त्री हुँदा भक्तपुरमा पाँच अर्बको बजेट ल्याएर भक्तपुरमा विकासका सुरुवात गरे, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ, भक्तपुरलाई प्रदेशको राजधानी बनाउने मेरो अठोट छ ।”
वर्षौदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, गाउँगाउँमा सडक, खानेपानी, संचार, स्वास्थ्य संस्था पुर्याउने, आधुनिक सुविधा सम्पन्न सहरको विकास गर्ने एजेण्डा लिएर मतदाता समक्ष मत माग्न गएको उहाँ बताउनुहुन्छ ।

३६ वर्षकी सुश्रीअनुराधा थापामगरले भने देशमा समाजवादले मात्रै देशको विकास र परिवर्तन गर्न सक्ने बताउँदै चुनावी मैदानमा आएको बताउनुभयो । समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबिचको बढ्दो खाडल र भारतीय विस्तारवादका बिरुद्ध चाल्नु पर्ने कदमका एजेण्डा लिएर मतदाता माझ पुग्नु भएको छ । देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारी जस्ता अपराधीलाई फाँसीको कानून ल्याउनुपर्ने उहाँको भनाई छ ।

विगतका चुनावमा दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिने गरेपनि यसपटक भने गठबन्धनको सहारमा मुख्य दलहरु चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसलाई यसपटक राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ सघाउने गरी लोकतान्त्रिक गठबन्धन बनाएको छ भने कांग्रेस यस क्षेत्रको ठूलो दल हुदै आएको र यसपटक दुवै राप्रपाको साथ पाएकाले यस पटकको चुनावमा पनि सहजै जीत हासिल गर्ने दाबी गर्दै आएको छ ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दूर्लभ थापाले भक्तपुर २ नम्बर क्षेत्र नेपाली कांग्रेसको किल्ला भएको दाबी गर्दै यसपटक राप्रपा, राप्रपा प्रजातान्त्रिकको मतका साथै वाम गठबन्धनबाट रुष्ट भएका माओवादी केन्द्रको मत समेत आउने दाबी गर्दै नेपाली कांग्रेस अत्याधिक बहुमतले जित्ने दाबी गर्नुहुन्छ ।

एमाले यसपटक माओवादी केन्द्रको साथ लिएर वाम गठबन्धनका रुपमा अगाडि बढेको छ भने एमालेलाई यसपटक भक्तपुरको माले र नयाँ शक्ति पार्टीले पनि साथ दिएको एमालेको दाबी छ । एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाका अनुसार माओवादी केन्द्रको मतका साथै भक्तपुरको सिंयो नयाँ शक्ति पार्टी एमालेमा विलय भएको, राप्रपा र राप्रपाका केही जिल्लाका नेता सहित एमालेमा प्रवेश गरेको, मालेका जिल्ला नेता सहित कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको र नेपाली काँग्रेसबाट असन्तुष्ट भएकाहरुको मत पनि एमालेलाई आउने छ । उहाँ युवा नेता र स्थानीय नेता भएकाले महेश बस्नेत धेरै मत पाउने दाबी गर्दै अहिलेसम्मको आलोपालो जित्ने काँग्रेस र नेमकिपाको किल्ला एमालेले भत्काउने उहाँको भनाई थियो ।

एक्लै चुनावी मैदानमा आएको नेमकिपाले भने कांग्रेस, एमालेले पटक पटक सत्तामा गएर भ्रष्टाचार गरेको, भारतसंग झुकेको, राष्ट्रियता संकटमा पारेको, जनताको पक्षमा काम गर्न नसकेको जस्ता कारण जनता वाक्क भएकाले नेमकिपालाई विजयी सुनिश्चित भएको दाबी छ ।

तीनवटै दलको कडा प्रतिष्पर्धा रहने यसपटकको चुनावमा नेताहरुले आआफ्नै दाबी गरेपनि यहाँ कसले बाजी मार्छ भन्ने अड्कल गर्न गाह्रो छ ।

 

Share It

Post Comments
थप समाचार