समाचार चौबिसै घण्टा मतपेटिकाको पहरा, चिसोले सतायो
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर १८ – यहि मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका मतपेटिका कुर्नका लागि बैतडीका राजनीतिक दलले चौबिसै घण्टा आफ्ना कार्यकर्ता खटाएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिकाको भवनमा मतपेटिका राखिएका कोठाको ढोकामा ताला र सिल लगाइएको छ । दलका कार्यकर्ताका लागि दशरथचन्द नगरपालिकाको भवनमा बसेर मतपेटिका कुर्ने व्यवस्था मिलाएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन् । नेपाल प्रहरी, नेपाली सेना र म्यादि प्रहरीले मतपेटिकाको सुरक्षा दिरहेका छन् । तर मतपेटिका सुरक्षामा खटिएकालाई चिसोले सताएको छ । दिनदिनै चिसो बढेकाले कुर्न बसेकालाई समस्या भएको छ भने मतपेटिकामा असर पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।

आफूहरुबिच आपसी विश्वासको वातावरण रहे पनि चुनावको संवदेनशीलता हेरेर मतपेटिका कुर्नुपरेको दलका नेताले बताएका छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमालेका पुर्ब अर्थराज्यमन्त्री दामोदर भण्डारी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका बाणिज्य राज्यमन्त्री नर बहादुर चन्द प्रतिस्पर्धामा रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार