समाचार दैलेखका सबै मतदान केन्द्रमा सोमबार निर्वाचन टोली पुग्ने
Ujyaalo

अमर सुनार/सुनार ।

दैलेख, मंसिर १८ – जनसंख्या र विकास पूर्वाधारका हिसावले प्रदेश नम्बर –६ को दोश्रो ठूलो जिल्ला दैलेखमा दोश्रो चरणमा हुने चुनावमा मतदान गराउन सम्वद्ध निकायले तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।
प्रतिनिधिसभा सदस्य चुनावका लागि दुई र प्रदेशसभा सदस्य चुनावका लागि चारजना गरी ६ जना सांसद चुन्न दैलेखका ४ नगरपालिका र ७ गाउँपालिकामा रहेका कुल १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता मतदान सहभागी हुनेछन् ।

प्रतिनिधिसभा चुनाव क्षेत्र नम्बर १ मा ७० हजार १ सय ९० जना र क्षेत्र नम्बर २ मा ६९ हजार ७ सय ५४ मतदाताले मतदान गर्नेछन् ।

क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ मा पर्ने गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा कुल ३१ हजार ८ सय ३५ मतदाता छन् । क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’को नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा ३८ हजार ३ सय ५५ जना मतदाता रहेका छन् ।

निर्वाचन क्षेत्र २ प्रदेशसभा ‘क’ को दुल्लू नगरपालिका र भैरबी गाउँपालिकामा गरी ३३ हजार ६ सय ३ जना र प्रदेशसभा ‘ख’ को आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकाकामा ३६ हजार १ सय ५१ मतदाता रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखिकरण तालिम दिएर आइतबारदेखि आवश्यक सामग्री समेत मतदान स्थलमा खटाउन थालेको छ । सोमबार सबैजसो मतदान केन्द्रमा टोली पुगेको छ ।

मंगलबार मतदान केन्द्रको लेआउट तयार पार्ने, स्थानीय स्तरमा समन्वय बैठक लगायतका व्यवस्थापकीय कार्य गर्ने कार्यसूची रहेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन समन्वय समितिको निर्णयबाट दैलेखका १ सय ३६ मतदान स्थलमा १ सय ९६ मतदान केन्द्र निर्धारण गरेको छ । वैशाखमा भएको स्थानीय तहको चुनावमा दैलेखमा १ सय ३६ मतदान स्थलमा १ सय ९२ मतदान केन्द्र थिए ।

अघिल्ला चुनावको अनुभव र आवश्यक सूचनाको आधारमा दैलेखका ५ स्थललाई अति सम्वेदनशील, ४५ स्थललाई सम्वेदनशील र बाँकी ८६ स्थल सामान्य रहको दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान समेत ४ वटै सुरक्षा अंगका प्रयाप्त जनशक्ति परिचालन गरी मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण बनाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

चुनावी कार्यको सुरक्षामा खलल् पुर्या‌उन सक्ने भन्दै नेकपा माओवादी (विप्लव समूह)का ३ जनालाई पक्राउ गरी केही सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । तीनै जना आठबीस नगरपालिकाका बासिन्दा हुन् ।

पहिलो चरणको चुनावमा छिमेकी जिल्ला कालिकोट र जाजरकोट लगायतका जिल्लामा राजनीतिक दलका निर्वाचन प्रचार अभियानलाई समेत बिथोल्ने र मतदान टोली माथि आक्रमणका प्रयास भए पनि दैलेखमा अहिलेसम्म निर्वाचन विरोध गतिविधि भएका छैनन् ।

 

Share It

Post Comments
थप समाचार