समाचार बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन, सम्बन्धित निकाय मौन
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर ६ – पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव नजिकिँदै जाँदा बैतडीमा निर्वाचन आचारसंहिता उल्लंघन पनि व्यापक भइरहेको छ ।

जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्घता जनाए पनि चुनावको प्रचारप्रसारमा भने व्यापक उल्लंघन भएको छ । यहाँका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई भड्किलो बनाउँदै गएका छन् । प्रचारप्रसारका सामग्रीहरु पर्चा, पोष्टर, झण्डा लगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

बैतडीको सदरमुकाम गोठलापानी बजार, शाहिलेक बजारमा दलहरुका झण्डा तथा पर्चा पम्पलेटले दुलही झै सिंगारिएको छ । यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमांडौं, खोडपे बजार, खोचलेक बजारलगायतका क्षेत्रमा पनि झण्डाहरुको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि बैतडीका केही दलले चुनावी सभा विद्यालयमै गर्ने गरेका छन् ।

चुनाव प्रचारप्रसार गर्न ठूलो साउण्ड सिस्टमको प्रयोग गर्ने, ठूलो आवाजमा नारा लगाउनुका साथै बालबालिकाको प्रयोग पनि गरेका छन । यसका साथै कतिपय ठाँउमा सरकारी कर्मचारी, शिक्षक, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएको देखिन्छन् ।
सजल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएपनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय मौन जस्तै बनेको छ । सम्वन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताको घटना वृद्धी हुँदै गएकोे हो ।

निर्वाचन आचारसंहिता उल्लंघन बारे आफूले पनि सुनेको र कसैको उजुरी नआएकोले केही कारवाही हुन नसकेको मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमले बताउनुभयो । निर्वाचन आचारसहिंता अनुगमन समितिका संयोजक समेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले विभिन्न ठाँउमा आचारसंहिता विपरित काम भइरहेको भएपनि यसबारे कसैको लिखित उजुरी नआएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई गम्भीर रुपमा लिएको बताउनुभयो ।

‘सामान्य आचार संहिता उल्लंघनका कुरा सुनिन आएको छ’ उहाँले भन्नुभयो ‘नियन्त्रण गर्नुपर्ने खालका आचार संहिता उल्लंघनका घटना भए हामी तत्काल कारवाही गछौं ।’

बैतडीमा १वटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभाका लागि १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Share It

Post Comments
थप समाचार