समाचार सुर्खेतका १ सय ३८ मतदानस्थल मध्ये २० वटा अति संवेदनशील, सुरक्षा व्यवस्था कडा
Ujyaalo

प्रकाश पन्त/उज्यालो

सुर्खेत, मंसिर १८ – सुर्खेतका १ सय ३८ मतदान स्थलमध्ये २० वटा अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । ८५ वटा संवेदनशील र ३३ वटा सामान्य मतदानस्थल रहेको समितीले बताएको छ ।

सुर्खेतमा १ सय ३८ वटा मतदान स्थल र २ सय ६३ वटा मतदान केन्द्र रहेका छन् । विभिन्न पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको सुरक्षा समितिले जानकारी दिएको छ ।

विगतका चुनावमा भएका समस्याहरु, सुरक्षाकर्मी पुग्ने दुरी, भौगोलिक क्षेत्र, जस्ता सुरक्षा संवेदनशीलतालाई आधार बनाएर मतदान स्थल वर्र्गिकरण गरिएको छ । सजिलै सुरक्षाकर्मी पुग्न सक्ने सुगमका स्थानलाई सामान्य, सुरक्षाकर्मी तत्काल पुग्न नसक्ने र भुगोलको हिसावले टाढा रहेका मतदान स्थललाई अति संवेदनशील र संवेदनशील सूचीमा राखिएको छ ।

सुरक्षा समितिले एउटा मतदान केन्द्रमा कम्तिमा ८ जनादेखि २४ जनासम्म सुरक्षाकर्मीको व्यवस्था गरेको सुरक्षा समितिले उल्लेख गरेको छ । मतदानकेन्द्रको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी हुनेछन् । उहाँको सहयोगको लागि शसस्त्र प्रहरी हुनेछन्, भने विभिन्न १२ स्थानमा नेपाली सेनाको टुकडी रहने छ । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभाको चुनावलाई मध्यनजर गर्दै सुर्खेतमा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले शंकास्पद गतिविधी गर्नेलाई निगरानी गर्ने, चेकजाचलाई कडाई गर्दै २४ सै घण्टा चेकजाँच गर्ने गरेका छन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्थालाई पनि तीन तहमै परिचालन गरेको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिनुभयो । हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरेर सुरक्षा सर्तकता अपनाएको भन्दै उहाँले सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

मंसिर २१ गतेको चुनावमा सुर्खेतमा प्रदेशसभाको लागि ४ र प्रतिनिधिसभाको लागि २ उम्मेदवार चुन्न २ लाख ४ हजार ५ सय ७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

 

 

Share It

Post Comments
थप समाचार