समाचार सिन्धुलीका २९ वटा मतदानस्थल अतिसंवेदनशील
Ujyaalo

बाबुराम देवकोटा/उज्यालो ।

सिन्धुली, मंसिर १८ – प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सिन्धुलीका २९ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा रहेका १ सय ३७ वटा मतदानस्थल मध्ये २९ वटा अतिसंवेदनशील ७९ वटा संवेदनशील र २९ वटा मतदानस्थल सामान्य रहेका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुली जिल्लामा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेसभा चुनावको तयारी पूरा भएको जानकारी दिनुभयो ।

सबै मतदानस्थलमा सोमबार बेलुकासम्म आवश्यक सुरक्षाकर्मी र मतदानमा खटिने कर्मचारीको टोली पुग्ने दाहालले बताउनुभयोे । शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन चुनावका लागि २ हजार ८ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको पनि अधिकारी दाहालले जानकारी दिनुभएको छ । चुनावका लागि आवश्यकता अनुसार संवेदनशील क्षेत्रको पहिचान गरिएको, जाँचलाई कडाई गरिएको र गस्ति बढाइएको दाहालले जनाकारी दिनुभयो ।

आसन्न चुनावका लागि १ सय ३७ मतदानस्थल र २ सय ४० वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २ नगरपालिकासहित सात गाउँपालिका रहेको सिन्धुली जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । सिन्धुली जिल्लाको दुइवटै निर्वाचन क्षेत्रमा एक लाख ८१ हजार ५ सय २६ मतदाता रहेका छन् । चुनावी क्षेत्र नम्बर १ मा ९२ हजार ९५ जना र क्षेत्र नम्बर २ मा ८९ हजार ५ सय २६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २ वटा चुनावी क्षेत्रमा ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् ।

 

Share It

Post Comments
थप समाचार