समाचार दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे
Ujyaalo

दाङ, मंसिर १८ – दाङमा मंसिर २१ को चुनावका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहितका कर्मचारी मतदानका लागि आवश्यक सामग्रीसहित सम्बन्धित क्षेत्रमा पुगेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेका मतदान अधिकृतहरु आफ्नो केन्द्रमा खटिने कर्मचारी र शुरक्षाकर्मीसहित कार्य स्थलमा बिहानैबाट जान थालेका हुन् ।

दाङका एक सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागि तीन हजार भन्दा बढी कर्मचारी र ४ हजार भन्दा बढी सुरक्षाकर्मी आवश्यक सामग्रीसहित खटिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।

अघिल्ला चुनावमा दाङमा माध्यमिक तहका शिक्षकहरुलाई पनि मतदान अधिकृतको रुपमा खटाउने गरिएकोमा यस पटक मावि तहका शिक्षक नराखी नायव सुब्बासम्मका निजामति कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाइएको छ ।

मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल तथा मतदाताको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार