समाचार चुनावी गठजोडले उम्मेदवारलाई अन्तिम समयमा मुक्त कमैया र सुकुम्बासी बस्ती पुर्‍यायो
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर १८ – मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियाका मुक्त कमैया र सुकुम्बासी बस्तीमा राजनीतिक दलका उम्मेदवारहरुले अन्तिम समयमा  प्रचारप्रसारलाई तीव्र बनाए ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारले यतिबेला आफ्नो ध्यान सुकुम्बासी तथा मुक्त कमैया बस्तीमा केन्द्रित गरेका छन् ।

बर्दिया जिल्ला मुक्तकमैया र सुकुम्बासीहरुको बसोबास भएको जिल्ला हो । यसअघि ४ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा हाल २ वटा मात्रै क्षेत्र तोकिएका छन् । क्षेत्र नम्बर २ मा मुक्त कमैया र सुकुम्बासीको बसोवास बढी रहेको छ ।

यसअघि मुक्तकमैया र सुकुम्बासी बस्तीमा उम्मेदवार तथा नेता कार्यकर्ता र मतदाता शिक्षा टोली पनि नआएको समाचार उज्यालोमा आएपछि अधिकांश बस्तीमा दुई दिन अघिदेखि उम्मेदवार तथा नेताहरु भोट माग्न दौडिएका छन् ।

भूमिहिन मुक्तकमैया र सुकुम्बासीलाई घरजग्गा र रोजगारी दिने भन्दै चुनावी अभियानमा लागेका छन् । बर्दियामा सुकुम्बासी तथा मुक्त कमैयाको ३ सय बस्ती छ । सुकुम्बासी र मुक्तकमैया बस्तीमा मतदाताको संख्या यकिन नभए पनि जिल्लाभरमा झण्डै ३५ हजार सुकुम्बासी र १२ हजार मुक्त कमैया रहेका छन् ।

Share It

Post Comments
थप समाचार