समाचार मतदाता फकाउन कोदो कुट्न र हलो जोत्न व्यस्त उम्मेदवार
Ujyaalo

निमेन्द्र शाही /उज्यालो ।

बाजुरा, मंसिर ६ – चुनावी मिति नजिकिँदै जाँदा बाजुराका राजनीतिक दलका नेतालाई मत माग्न नागरिकको खेतमा काम गर्न भ्याई नभ्याई छ । मंसिर महिना कामको समय भएकाले मतदाता खेतबारीमा व्यस्त हुँदा उम्मेदवार खेतमै पुगेर आफ्नो पक्षमा भोट माग्ने होडबाजीमा छन् । कहिल्यै खेतबारीको काम नगरेका नेतासमेत मतदातालाई आफ्नो पक्षमा पार्न खेत जोत्नेदेखि कोदो चुट्नेसम्मका काममा व्यस्त देखिन्छन् ।

 

प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कविराज पण्डितले मतदातालाई भेट्न जाने क्रममा अधिकांशको खेतबारीमा हलो जोतेर मत माग्नु भएको छ । वाम गठबन्धनका समानुपातिक उम्मेदवार कर्णबहादुर थापा पनि मत माग्न जाँदा नागरिकको हलो जोत्नेदेखि सुकाएको कोदो चुट्ने काम गर्न व्यस्त देखिनु हुन्छ । थापा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ ।

प्रदेशसभामा चुनाव क्षेत्र नं. २ का लोकतान्त्रिक गठबन्धका उम्मेदवार पदम शाही र वाम गठबन्धनका उम्मेदवार प्रकाश शाह बाजुरामा कमै बस्ने गर्नुहुन्छ । ठकुरी खलकका दुुवै उम्मेदवार पनि मतदातालाई आफ्नो पक्षमा पार्न खेत–बारीमा हलो जोत्ने काममा लाग्नुभएको छ ।

मतदाता भने नेताले हलो जोत्ने, कोदो काट्ने र कोदो चुट्ने काम मत माग्नका लागि मात्र गरेको बताउँछन् । गौमुल गाउँपालिका–४ का रामबहादुर रोकायाल भन्नुहुन्छ, ‘नेताले देखाउनका लागि मात्र यो जात्रा गर्ने हुन् । हामीलाई यही काम नगरी सुख छैन, उनीहरुको घरमा काम गर्नु पर्दैन ।’

हिमाली गाउँपालिका–२ बौडीका पासाङ गुरुङको परिवारले यसपटक मत हाल्न नपाउने भएका छन् । पासाङ गुरुङ भन्नुहुन्छ ‘हाम्रो सम्पती भनेको बाख्रापाठा हो । हिउँ पर्छ, औलतिर वन पाइँदैन, कसलाई जिताएर के पाइने हो र ? उनीहरुले हाम्रो पीडा हेर्ने होइनन् ।’ जिल्लाका हिमाली क्षेत्रको समस्या नबुझेका कारण उनीहरु भेडा बाख्रा चराउन बेसी झरेका छन् । जिल्लामा यस्ता मतदाताको संङ्ख्या आठ सयको हाराहारीमा छ ।

जिल्लाका ७० मतदानस्थलमा ६२ केन्द्र संवेदनशीलको सूचिमा रहेका छन् । प्रदेश नं. ६ को कालिकोट, हुम्ला र मुगुसँग जोडिएका मतदानस्थल अति संवेदनशील मानिएका छन् । जिल्ला सुरक्षा समितिको निर्णयले ३१ मतदानस्थल अति संवेदनशील, ३१ संवेदनशील र आठ सामान्य रहेको जनाएको छ । जिल्लामा प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।

जिल्लामा ६९ हजार आठ सय ३४ ले मतदाता छन् । ६९ मतदानस्थल र एक सय मतदान केन्द्र रहेका छन् । चुनावका लागि झण्डै आठ सय कर्मचारी पनि खटाइएको जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले बताउनुभयो ।

नेताले आफ्ना लागि मत माग्नको लागि मात्र नभई नागरिकका लागि यातायात सञ्चार, विद्युत, शिक्षा, रोजगारी र खाद्यन्नको व्यवस्था गरीदिए फोटो खिच्नकै लागि मात्र काम देखाउनु नपर्ने बुढीनन्दा नगरापालिका–७ पाण्डुसैनका सुरत थापा भोटे बताउनुहुन्छ ।

Share It

Post Comments
थप समाचार