समाचार चुनाव बिथोल्ने कार्यमा लागेका १३४ जना पक्राउ
Ujyaalo

दाङ, मंसिर १९ —चुनाव विरोधी गतिविधि गरेको आरोपमा ५ नं. प्रदेश अन्तर्गतका १२ जिल्लाबाट १ सय ३४ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ गरिएकाहरुमध्ये १ सय २१ जनालाई मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

५ नं. प्रदेश प्रहरी प्रमुख एआइजी मधुप्रसाद पुडासैनीका अनुसार सुरक्षा निकायले हालको अवस्थामा चुनाव नचाहने शक्तिको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई मुख्य चुनौतीको रुपमा लिएको छ । बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि ५ नं. प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म गम्भीर प्रकृतिको सुरक्षा चुनौती नदेखिए पनि उम्मेदवार, उहाँका परिवार तथा मतदान हुने स्थलको सुरक्षा योजना तयार पारेर कार्यान्वयन भैरहेको पुडासैनीले जानकारी दिनुभयो ।

चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन नेपाल प्रहरी र म्यादी प्रहरी खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी र नेपाली सेनासमेत चुनाव सुरक्षाका लागि परिचालन भैसकेका छन् । यस प्रदेशमा पर्ने नेपाल—भारत सीमा र चुनाव भइसकेको रोल्पा र दाङ सीमाक्षेत्र पनि सिल गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस अन्तर्गत चुनाव हुन बाँकी कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, दाङ र प्यूठानलगायतका जिल्लाका १ हजार ५ सय १ मतदान स्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमा मंसिर २१ गते मतदान हुँदैछ । चुनावका लागि ५ नं. प्रदेशमा प्रतिनिधिसभा तर्फ ३ सय ८ जना र प्रदेशसभा तर्फ ५ सय ८३ जना उम्मेदवार रहेका छन् । यस प्रदेशमा २७ लाख ९५ हजार ४ सय ९९ मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार