समाचार इलामका १४ हजारभन्दा बढी मतदातालाई परिचयपत्र वितरण गरिँदै
Ujyaalo

इलाम, मंसिर १९ –बिहीबार हुने चुनावका लागि इलामका १४ हजारभन्दा बढी मतदातालाई मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । स्थानीय तहको चुनावमा परिचयपत्र बनाउन छुटेका नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको हो ।

दुई सय ६६ वटा मतदान केन्द्रबाट मतदान अधिकृत मार्फत मतदाता परिचयपत्र वितरण भैरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । स्थानीय तहको चुनावपछि मतदाता नामावलीमा नाम समावेश भएका १४ हजार ७७२ जनाले मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार मंगलबार र बुधबार लिन नआएका मतदाताले चुनावका दिन समेत परिचयपत्र लिन पाउने छन् । स्थानीय तहको चुनावमा एक लाख ८९ हजार २७४ मतदाता रहेकोमा अहिले दुई लाख चार हजार ४६ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी काफ्लेका अनुसार परिचयपत्र लिइसकेका मतदाताले त्यही परिचयपत्र प्रयोग गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम समावेश भएर परिचयपत्र नलिएका मतदाताले परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाउने कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार