समाचार दाङमा ४८ घण्टामै सबै मतपरिणाम सार्वजनिक गर्ने तयारी
Ujyaalo


दाङ, मंसिर १९ —बिहीबार हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । सोमबार मतदान गराउन मतदानस्थलमा कर्मचारी पठाएपछि मुख्य निर्वाचनको कार्यालयले मंगलबारदेखि मतगणना थलको तयारी तीव्र पारेको छ ।

यस पटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गरिनेछ । विद्यालयमा रहेका तीन अलग–अलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ ।

मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाईलगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाका ३ वटा र प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ । बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।

मतगणना सुरु भएको ४८ घण्टा अर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो, ‘मतगणना छिटो गर्ने विषय सबै हाम्रो हातमा मात्रै त हुँदैन’, रावलले भन्नुभयो, ‘दलका प्रतिनिधिहरुले साथ दिनुभयो भने दुई दिनभित्रै सबै मतगणना सक्ने हाम्रो तयारी छ ।’

Share It

Post Comments
थप समाचार