समाचार ढुक्क भएर मतदान गर्न भक्तपुरका प्रजिअको आग्रह
Ujyaalo

भक्तपुर, मंसिर १९ –मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा ढुक्क भएर मतदान गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मतदातालाई आग्रह गर्नुभएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पोखरेलले भक्तपुर पूर्ण रुपमा सुरक्षित भएकोले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको हो ।

भक्तपुरमा छिटफुट घटना घटे पनि तीन चरणमा सुरक्षाको व्यवस्था गरिएको बताउँदै उहाँले मतदानस्थल एवं मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था गरिएको र प्रत्यक मतदान स्थलमा कुनै पनि घटना घटेमा ५ मिनेट भित्र सुरक्षाकर्मी पुग्ने गरी सुरक्षाको व्यवस्था गरिएको बताउनुभयो ।

सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ हुने बताउँदै उहाँले पहिलो घेरामा प्रहरी, दोश्रो घेरामा शसस्त्र र तेश्रो घेरामा नेपाली सेना तैनाथ रहने बताउनुभयो ।

चुनावमा चारवटै सुरक्षा निकायका दुई हजार दुईसय भन्दा बढी सुरक्षाकर्मी तैनाथ भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै मतदान स्थलमा मंगलबारदेखि कर्मचारी खटिएको र परिचयपत्र वितरण एवं मतदान केन्द्र निर्माणमा जुटेको बताउँदै उहाँले कुल २ हजार ५ सय ४ जना कर्मचारीलाई चुनावमा खटाइएको बताउनुभयो ।

भक्तपुरका ७८ मतदानस्थलमा २ सय ९ मतदान केन्द्र रहेका छन् । जसमध्ये ३४ वटा मतदान स्थल संवेदनशील रहेका छन् । भक्तपुरमा कुल १ लाख ७८ हजार ९५ जना मतदाता रहेका छन् । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ९४ हजार १ सय ६४ र क्षेत्र नम्बर २ मा ८३ हजार ९ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा ४३ हजार ५ सय ५२ मतदाता रहेका छन् । त्यस्तै ‘ख’ मा ५० हजार ६ सय १२ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा ४४ हजार ८९ मतदाता रहेका छन् भने प्रदेश ‘ख’ मा ३९ हजार ८ सय ४६ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार