समाचार धनकुटामा चुनावको सम्पूर्ण तयारी पूरा
Ujyaalo

सिद्धराज राई/उज्यालो ।

धनकुटा, मंसिर १९ –प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान स्थल पुगेका कर्मचारीहरुले काम सुरु गरेका छन् । मतदान गराउनु अगाडि गर्नु पर्ने आवश्यक काम सुरुवात भएपछि कर्मचारी व्यस्त बनेका छन् ।

मतदानस्थल र मतदान केन्द्र पुगेका कर्मचारीहरुले मंगलबारबाट मतदाता परिचयपत्र वितरण, मतदानका लागि आवश्यक कार्यस्थलको भौतिक तयारी, सूचना टाँस गर्ने, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

त्यस्तै सर्वदलीय वैठक गरेर निर्वाचनमा हुने अमानविय गतिविधि रोक्न, मतदाता प्रभावित पार्नको मौन अवधिमा आचारसंहिता उल्लघंन गर्न घट्ना रोक्न, मतदानस्थल आसपासको एकसय मिटर आसपासका पर्चा, पम्प्लेट र झण्डा लगायतका प्रचार सामग्री हटाउने कार्य समेत सुरु भएको त्रिवेणी मावि मतदान केन्द्रका मतदान अधिकृत सीताराम गौतमले बताउनुभयो ।

यस्तै जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारी अनुगमन गर्न मुख्य निर्वाचन अधिकारी विनोद पोखरेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी उपरीक्षक सुदिपराज भण्डारी सहित सुरक्षा निकायका जिल्ला प्रमुखहरु धनकुटाका विभिन्न स्थानमा पुगेका छन् ।

धनकुटामा १ सय १७ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहेका छन् । १ लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा ९ हजार ८ सय १७ नयाँ मतदाता थपिएका छन् ।

चुनावका लागि धनकुटामा एक हजार ८३६ जना कर्मचारी खटिएका छन् । धनकुटामा निर्वाचन सुरक्षाको लागि एक हजार ३८५ प्रहरी परिचालन भएका छन् ।

 

Share It

Post Comments
थप समाचार