समाचार सप्तरीमा चुनावको तयारी पूरा, सबै मतदानस्थल संवेदनशील
Ujyaalo

सप्तरी, मंसिर १९– बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी सप्तरीमा सकिएको छ । मतदानस्थलमा खटिने कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

मंगलबार र वुधबार सप्तरीका सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम भैरहेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिलिपकुमार यादवका अनुसार सप्तरीमा १ लाख ७९ हजार ९ सय ८७ पुरुष, १ लाख ६६ हजार २ सय ६ महिला र २१ तेश्रो लिङ्गि गरी कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् ।

सुरक्षाका हिसाबले सप्तरीमा एउटा मतदान स्थल पनि सामान्य छैन । जिल्लाका २ सय ९५ मतदान स्थल मध्ये २ सय ७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचिमा छन् ।

चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना सहित पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रमुद जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तरीमा म्यादि प्रहरी र नेपाल प्रहरी गरी ४ हजार ८ सय ७२, सशस्त्र प्रहरी ९ सय ५० तथा नेपाली सेना ७ सय गरी कुल ६ हजार ५ सय २२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share It

Post Comments
थप समाचार