समाचार विशेष सम्पादकीय
Ujyaalo

काठमाडौं, मसिंर २० –मंसिर २१ गतेको मतदानपछि देश राजनीतिक संक्रमणबाट मुक्त भएर विकासको नयाँ बाटोमा लाग्नेछ । अथवा देश राजनीतिक संक्रमणबाट विकासको संक्रमणतिर लाग्नेछ । आशा गरौं, चुनावपछिको संक्रमणले नेपालको सदियाैंदेखिको अविकास अन्त्य गर्ने बाटो समात्नेछ । गरिवी र पछौटेपनबाट मुक्त भएर विकासतिर देश अघि बढ्नेछ । देशले जनताको सुख र सम्वृद्धिका अपेक्षाहरुलाई सम्बोधन गर्ने उज्यालोतिरको यात्रा सुरु हुनेछ । 

त्यसो त नेपाली नागरिकका लागि चुनाव वा मतदान नयाँ विषय होइन । नागरिकले २०४६ साल यता मात्रै पाँचपटक आम चुनाव र तीनपटक स्थानीय चुनावको अभ्यास गरिसकेका छन् । तर यो पल्टको चुनावमा नेपाली नागरिक आफूले चुनेका संविधानसभाका सदस्यले बनाएको संविधानले परिकल्पना गरेको नेपालको नयाँ संरचना र ढाँचा बनाउन मतदान गर्दैछन् । त्यसैले, यो चुनावको ऐतिहासिक महत्व छ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएसँगै १० वर्ष लामो सशस्त्र द्वन्द्व र त्यसपछि बितेको अर्को १० वर्ष लामो राजनीतिक संक्रमणकालको अन्त्य भएको थियो । त्यसै संविधानअनुुसार बिहीबार एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान भएसँगै नेपालमा राजनीतिक संक्रमणकालको औपचारिक र विधिवत रुपमा समापन हुँदैछ । त्यसकारण आसन्न चुनाव नेपालको इतिहासमा एउटा भिन्नै महत्व र गरिमा बोकेको चुनाव हो ।

पटकपटक सरकार फेरिने अवस्थाबाट वाक्कदिक्क भएका नागरिकले चुनावपछि अब कम्तीमा पनि दुई वर्ष टिक्ने स्थायी सरकार पाउँदैछन् । किनकी संविधानमा सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने व्यवस्था छ । यो व्यवस्थाले कम्तीमा पनि २ वर्षसम्म एउटै सरकारको काम गर्न पाउने प्रत्याभूति दिएको छ ।

यो चुनावमा पहिलोपल्ट दलहरु लोकतान्त्रिक र वाम गठबन्धन बनाएर ध्रु्वीकृत भएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । यो ध्रुवीकरण कुनै न कुनै पक्षले बहुमत ल्याउने र पाँच वर्ष निरन्तर सरकार चलाउने अवसरको ढोका खोल्न सक्नेछ । नौ–नौ महिनामा फेरिने र आलोपालो सरकार चलाउन बानी परेका दललाई तत्कालका लागि छटपटी भए पनि नेपालमा कुनै पनि सरकारले पाँच वर्ष निरन्तर काम गर्न पाउनु देश र नागरिकको हितमा छ । स्थायी सरकार चलाउन पाउनु दलहरुका लागि पनि अवसर हो ।

जसले जिते पनि ५ वर्षसम्म सरकार चलाउन सकेमा देश अविकासबाट विकासतिर, गरिबीबाट सम्वृद्धितिर र अँध्यारोबाट उज्यालोतिर लाग्नेछ र यस्ले देशमा विकास र सम्वृद्धिको ढोका खुल्नेछ । गठबन्धन बनाएर दलहरु चुनावमा गएकाले एउटा पक्षको बहुमत ल्याउने अनुमान लगाउन सकिन्छ । एउटा पक्षले बहुमत ल्याएर सरकार चलाउने हुँदा पराजित हुने पक्ष पाँच वर्ष प्रतिपक्षमा बस्न मानसिक रुपमा तयार हुनुपर्छ ।

यस्तै यो चुनावले नेपाललाई संघीय शासन प्रणालीमा पनि लैजाँदैछ । एकात्मक शासन प्रणाली अवलम्बन गर्दै आएको नेपाल अब प्रदेशसभाको गठनसँगै नयाँ र जटिल शासकीय स्वरुपमा प्रवेश गर्दैछ । हरेकपल्ट नयाँ नयाँ प्रयोग भैरहेको देशमा यो नयाँ व्यवस्था कति फलदायी हुन्छ, त्यो पनि यो चुनावपछि स्पष्ट देखिनेछ ।

त्यसैले यो चुनाव संविधान र संघीयता कार्यान्वयन तथा देशमा स्थायित्व र सम्वृद्धि ल्याउने महत्वपूर्ण अवसर हो । स्थायी सरकार बनाउने र सम्वृद्धिको ढोका खोल्ने चुनावमा सबै मतदाताले उत्सवका रुपमा लिदै मतदानमा भाग लिनुपर्छ ।

चुनावका बेला सोच विचार नै नगरी मत खसाल्ने र अर्को पाँच वर्ष आफैले मतदान गरेका नेतालाई गाली गरेर समय खेर फाल्ने छुट अब नेपाली नागरिकलाई छैन । अब देश कता लैजाने र कस्ता व्यक्तिलाई शासनमा पुर्‍याउने हो, त्यसको छिनोफानो गर्ने यो अवसरलाई हरेक नागरिकले विवेकका साथ प्रयोग गर्नुपर्छ ।

Share It

Post Comments
थप समाचार