समाचार पर्वतको शिवालय उमावि मतदान केन्द्र महिला नेतृत्वमा
Ujyaalo

सन्तोष थापा/उज्यालो ।

पर्वत, मंसिर २० – पर्वतको शिवालय उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा चुनावको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । कुश्मा नगरपालिका–६ को शिवालय मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी र स्वंयसेवक पनि महिला कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि जिल्लामा नमुना मतदान केन्द्रका रूपमा महिला कर्मचारीलाई मात्र जिम्मेवारी दिइएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताउनुभयो ।

मतदान केन्द्रमा पर्वतका कृषि विकास कार्यालय बागवनी विकास अधिकृत सोनी रानाको नेतृत्वमा १२ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक पूर्णिमा थापाको नेतृत्वमा ९ जना सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयकी महिला कार्यकर्ता क्यामकी माया पुन र सहायक कर्मचारीमा अनिता कुमारी शर्मा, ममता ओझा, भोज कुमार शर्मा र पूजा पौडेल रहनुभएको छ ।

‘हामी महिला पनि सक्षम छौँ, भनेर देखाउने यो राम्रो अवसर हो । फरक फरक जिम्मेवारीमा महिला कर्मचारी छौँ’ रानाले भन्नुभयो ‘हामी यहाँ खटिएका सबै कर्मचारी समन्वय गरेर काम गर्नेछौ, चुनाव स्वच्छ रूपमा सफल गराउन हामी जिम्मेवारीपूर्ण ढङ्गले लाग्नेछौँ ।’ शिवालय मतदान केन्द्रमा ८ सय ४३ जना मतदाता रहेका छन् । जसमध्ये ४ सय ४८ महिला र ३ सय ९५ पुरुष रहेका छन् ।

Share It

Post Comments
थप समाचार