समाचार लमजुङको मतगणनास्थलमा फलामे बार
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २० –चुनावको मतगणना गर्ने दिन नजिकिदै गर्दा लमजुङमा मतगणना स्थल सुरक्षाका लागि फलामे बार लगाइएकोे छ । लमजुङका विभिन्न मतदान केन्द्रबाट ल्याएर सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शिलवन्दी गरी राखिएको मतपत्र गणना गर्ने स्थल सुरक्षित बनाउन फलामे बार लगाइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा मतगणना गर्ने तय भएसँगै हलको नापजाँच गरी दुइतिहाई भन्दा बढी भागमा मतगणना गर्नेगरी बार लगाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बार भित्र तीन देखि चार ठाउँमा एकैपटक मतगणना गर्न सकिने र त्यस बाहिर दलका प्रतिनिधि, उम्मेदवार वा तिनका प्रतिनिधि र अन्य सरोकारवालाहरु बस्ने व्यवस्था गरिने भएको हो ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, श्रीजंग गणका प्रमुख सेनानी माधव थापा, प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्ट, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल लगायतको परामर्शमा मतगणनास्थल सुरक्षित बनाईएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

लमजुङका चार नगरपालिका र चार गाउँपालिकाका १ सय ६५ मतदान केन्द्रका कूल ४ सय ९५ थान मतपेटिका व्यवस्थापन गरिएको छ । दलका प्रतिनिधि सहित नेपाल प्रहरी र म्यादी प्रहरीले मतपेटिका राखिएको स्थललाई सुरक्षा दिएका छन् । जिल्लामा कूल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा कूल ७७ हजार ३ सय २० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ


मिडिया सेन्टर स्थापना

चुनावको मतगणना समाचार संकलनका लागि लमजुङमा मिडिया सेन्टर कक्ष स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको सहयोग एवम् नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा लमजुङमा मिडिया सेन्टर कक्ष स्थापना गरिएको हो ।

जिल्ला समन्वय समितिको वैठक कक्षलाई मिडिया सेन्टरको रुपमा स्थापना गरिएको हो । कक्षमा बसेर पत्रकारले अडियो, भिडियो र समाचार आफ्नै ल्यापटपबाट पठाउन र लाईभ गर्न सक्नेछन् । एक पटकमा १५ जना पत्रकारले आफ्नो सामाग्री सहित समाचार सम्प्रेषण गर्न सक्नेछन् । पत्रकारलाई आलोपालो गर्ने गरी पासको व्यवस्था मिलाईएको छ ।

Share It

Post Comments
थप समाचार