समाचार मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आग्रह
Ujyaalo


काठमाडौं, मंसिर २० – बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न राष्ट्रपति विद्यादेवि भण्डारीले सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको छ । लामो संघर्षबाट निर्मित नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदान गर्न उहाँले आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै २०७४ माघ ७ गते भित्र संघीय संरचना अन्तरगतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै सिलसिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचन पछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधान बमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि वढ्नेछ भन्ने मलाई विश्वास लागेको छ ।’ सबै नेपाली मतदाताले चुनावमा आफ्नो मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक प्रकृयालाई सफल बनाउन उहाँले आग्रह गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार