समाचार रसुवामा २४ घण्टा भित्रै मतगणनाको नतिजा आउने
Ujyaalo

रसुवा, मंसिर २० –मंसिर १० गते भएको चुनावको नतिजा मतगणना भएको २४ घण्टाभित्रै सार्वजनिक गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोलि साँझ ५ बजेबाट मतगणना सुरु गरिने र २४ घण्टा भित्रै मतगणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकै साथ सुरु गरिने तथा त्यसै अनुसार कर्मचारी परिचालन हुने कार्यालयले जनाएको छ । जिल्ला प्राविधिक कार्यालयको हलको दुईतर्फ मतगणना गर्ने व्यवस्था मिलाइएको छ । एकातर्फ प्रतिनिधिसभा र अर्कोतर्फ प्रदेशसभाको मतगणना गर्न लागिएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२४ घण्टाभित्रै नतिजा आउने गरी तयारी गरिएको छ, त्यसका लागि ३० जना कर्मचारी खटाइने छ ।’ निर्वाचन आयोगले एउटा स्थलमा ७ जना कर्मचारी राख्न मिल्ने व्यवस्था गरिएको भए पनि मतगणना छिटो सम्पन्न गर्न एउटामा १५ जना राख्न लागिएको हो । मतपत्र सानो भएको र थोरै मतदाता रहेको कारण नतिजा छिटो आउने सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

मतपेटिकाको सुरक्षाको लागि प्रयोग गरिएको सिसिटिभी मतगणनास्थलमा पनि प्रयोग गरिने बताइएको छ । मतगणनालाई विश्वसनीय बनाउनका लागि सिसिटिभी क्यामेराको कन्ट्रोल युनिट कार्यालयमा राखिने छ ।

मतपत्रको सुरक्षालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान, सुरक्षाकर्मी परिचालन गर्नुका साथै फलामे गेटसमेत लगाइएको छ । मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र मतगणना कर्मचारी मात्रै बस्न पाउने व्यवस्था गरिएको छ । उम्मेदवार, पत्रकार र राजनीतिक दलका प्रतिनिधि च्यानल गेट भन्दा बाहिर रहने व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ ।

३२ हजार तीन सय २२ मतदाता रहेको रसुवामा २६ हजार एक सय मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभामा बराबरी मत नखसेको कार्यालयको भनाई छ । तीन सदस्यका लागि भएको चुनावमा २३ जना उम्मेदवार मैदानमा रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार