समाचार स्थानीय चुनावमा कांग्रेस प्रवेश गरेका कृष्ण अहिले वाममा फर्किए
Ujyaalo

विमल विष्ट/उज्यालो ।

डोटी, मंसिर ६ – नेपाली कांग्रेसका नेता कृष्ण दर्लामी वाम गठबन्धनमा फर्किनुभएको छ । एमाले पृष्ठभूमिका नेता दर्लामी संघीय समाजवादीको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँ अहिले माओवादी केन्द्रसँगको वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

डोटीको दिपायलमा वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँ गठबन्धनमा प्रवेश गर्नुभएको हो । नेपाली कांग्रेस डोटीबाट समानुपातिक उम्मेदवारका आकांक्षी कृष्ण दर्लामी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका केन्द्रीय सदस्य डम्मर ऐर पनि वाम गठबन्धनमा प्रवेश गर्नुभएको छ ।

उनीहरुसँगै तीन सयभन्दा बढी वाम गठबन्धनमा प्रवेश गरेको वाम गठबन्धनले जानकारी दिएको छ । दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दर्लामीले आँशु झारेर भन्नुभयो –‘नेपाली कांग्रेसले जनजातिका भावना समेट्न सकेन, यसकारण कांग्रेस छोड्न बाध्य भएँ ।’

दर्लामी स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट टिका लगाएर कांग्रेस प्रवेश गर्नुभएको थियो ।

अन्तत वाम शक्तिहरु एक ठाउँमा उभिएकाले आफू वाम गठबन्धनमा प्रवेश गरेको दर्लामीले बताउनुभयो । त्यस्तै आफु कक्षा ६ पढ्दै गर्दा अखिल छैटौंको राजनीति शुरु गरेको स्मरण गर्दै अखिल छैटौंबाट वाम गठबन्धनमा प्रवेश गरेको विद्यार्थी नेता ऐरले बताउनुभयो । उहाँले भन्नुभयो –‘म सानै उमेरदेखि जनमोर्चा समर्थक थिएँ । प्रतिनिधिसभा र प्रदेशसभा चुजावका लागि वाम गठबन्धको कुरा उठ्दा जनमोर्चाभित्र हामीले पनि गठबन्धनमा सहभागी हुन दवाव दियौं । तर जनमोर्चाभित्र यो सम्भावना नदेखेपछि आफू वाम गठबन्धनलाई जिताउनका लागि वाम गठबन्धनमा प्रवेश गरेको हुँ ।’

बाम गठबन्धन प्रवेश गरेका कृष्ण दर्लामी, डम्मर ऐरले बाम गठबन्धनलाई विजयी गराउन आफूहरु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँहरुलाई वाम गठबन्धनका डोटी निर्वाचन क्षेत्र नम्बर ‘ख’ का प्रदेश सभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य त्रिलाचन भट्ट, एमालेका समानुपातिक उम्मेदवार पूर्ण जोशी, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार शिव सिंह ओली लगायतले अविर फूलमालाले स्वागत गरेका थिए ।

Share It

Post Comments
थप समाचार