समाचार उम्मेदवारले पत्रकारलाई भने : चुनावपछि ठिक पार्छु
Ujyaalo

सप्तरी, मंसिर २१ – समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएका छन् । सप्तरी क्षेत्र नं. १ प्रदेशसभा कका वाम गठबन्धनका उम्मेदवार सत्यनारायण मण्डलले पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएका हुन् ।

सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ ।

‘एमालेका स्थायी समिति सदस्य एवंम् २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भन्नुभयो, ‘मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै थिएँ, त्यै समाचारका कारण उहाँले धम्की दिनुभयो ।’

मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको पासवानले दावी गर्नुभयो ।

पत्रकार महासंघ सप्तरी शाखाको आपत्ति

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताउनुभएको छ ।

पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको बताउनुभयो ।

Share It

Post Comments
थप समाचार