समाचार गणतन्त्रको सर्टिफिकेटमा देउवाको भन्दा मेरो नम्बर धेरै : ओली
Ujyaalo

दाङ, मंसिर ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध खनिनुभएको छ । दाङको घोराहीमा भएको वाम गठबन्धनको आमसभामा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गणतन्त्र ल्याउन सिन्को पनि नभाँचेको आरोप लगाउनुभयो । ओलीले आफूलाई गणतन्त्रको विरोधी भन्नेहरुलाई गणतन्त्रको सर्टिफिकेट पाउने स्थान देखाइदिन पनि आग्रह गर्नुभयोे ।


‘गणतन्त्रको सर्टिफिकेट कहाँ पाइन्छ ? कस्तो हुन्छ ? २०४६ सालदेखि लोकतन्त्र ल्याउन सडकमा हिँडेको मान्छेलाई गणतन्त्रबारे कसैले सिकाउनु पर्दैन’ घोराहीको आमसभामा ओलीले भन्नुभयो, ‘गणतन्त्र ल्याउन म २०४६ सालदेखि लडिरहँदा शेर बहादुर देउवा जी कता गल्लीमा भौतारिरहनुभएको थियो ? त्यसैले मलाई गणतन्त्रमा कस्को के योगदान थियो भनेर दुहाइ दिन मिल्दैन ।’


ओलीले यदि गणतन्त्रको सर्टिफिकेट पाएमा शेर बहादुर देउवाले भन्दा पहिले पाउने र नम्बर पनि धेरै पाउने दावी गर्नुभयो । ‘गणतन्त्रको सर्टिफिकेट पाउने हो भने देउवाले भन्दा मैले नै पहिला पाउँछु र नम्बर पनि उहाँको भन्दा मेरो धेरै आउँछ’ ओलीले भन्नुभयो ।


उहाँले देशमा अब कम्युनिष्टको शासन आउने पक्का भएको दावी पनि गर्नुभयो ।


कांग्रेसले जिते वर्वाद : बादल


सभामा माओवादी नेता राम बहादुर थापा बादलले नेपाली कांग्रेसले चुनाव जिते देश फेरि एकपटक अधोगतीतर्फ जाने बताउनुभयो । घोराहीमा भएको सभामा नेता बादलले भन्नुभयो ‘देशमा पुँजीवादी गणतन्त्र ल्याउने हो या श्रमजिवीको समाजवादी गणतन्त्र ल्याउने हो त्यो तपाइँहरुकै हातमा छ, पुँजीवादी र सामन्तीहरुले मात्रै हालीमुहाली गर्ने शासन ल्याउने भए मात्रै कांग्रेसलाई भोट दिनुहोस नत्र श्रमजिवीको समाजवादी गणतन्त्र र शासन ल्याउने भए हामीलाई भोट दिनुहोला ।’


यसपालीको चुनाव सामान्य नभएको र अहिले कांग्रेसले जिते वर्षौंंसम्म जालझेल गरेर कांग्रेसले नै शासन गरिरहने हुँदा निकै विचार पुर्‍याएर मात्रै भोट हाल्न वादलले आग्रह गर्नुभयो । वाम गठबन्धनका नेताहरु बुधबार नवलपरासी र कपिलवस्तुका विभिन्न ठाउँमा भएका आम सभालाई सम्बोधन गर्दै दाङ पुगेका हुन् ।

 

Share It

Post Comments
थप समाचार