समाचार महिला आत्मनिर्भर र सम्पन्न भएको हेर्ने चाहना छ : आरजु
Ujyaalo

धनगढी, मंसिर ६ – नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ कि उम्मेदवार तथा आरजु देउवा राणाले सात नम्बर प्रदेशका महिला आत्मनिर्भर र सम्पन्न भएको हेर्ने चाहाना भएको बताउनुभएको छ ।


हसनपुर, तारानगर र जाइका विभिन्न ठाउँमा भएका चुनावी सभालाई सम्बोधन गर्दै डा. आरजुले राज्यका निकायमा तह तप्कामा सबैभन्दा पछि परेका सात नम्बर प्रदेशका महिला सबैभन्दा अघि पुगेको हेर्ने मन रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘समाज विकासका लागि पनि महिला सम्पन्न बन्न आवश्यक छ ।’


धनगढीका विभिन्न ठाउँमा भएका चुनावी सभालाई सम्बोधन गर्दै नेतृ आरजुले महिलालाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउने आफ्नो चुनावी एजेण्डा नै बनाउनुभएको छ । प्रदेश सातमा महिलाको अवस्था अझै दयनीय रहेको भन्दै देउवाले आफूले जिते यस क्षेत्रका महिलाको जीवनस्तर उकास्न पूरै समय खर्चने बताउनुभएको छ ।


‘प्रदेश नम्बर सातमा घरेलु हिंसा, विभेद र गरिबीका कारण महिला अझै चुलो चौकोमा सिमित छन्’ नेतृ राणाले भन्नुभयो ‘समुन्नत समाज निमार्णका लागि महिला आत्मनिर्भर हुन आवश्यक छ ।’


आफू महिला भएकोले पनि महिलाका समस्यामा पूर्ण रुपमा जानकार रहेको भन्दै नेतृ देउवाले महिलाको अधिकारका लागि आफू सडक र सदनमा लडिरहेको बताउनुभयो । ‘दुई दशकदेखि महिला अधिकारका क्षेत्रका कार्यरत छु’ उहाँले भन्नुभयो ‘महिलालाई आत्मनिर्भर बनाउने काममा म पूर्ण रुपमा सफल हुनेमा विश्वस्त छु ।’


स्थानीय तहका निकायलाई र सरोकारवाला संघ संस्थालाई पनि उहाँले महिला लक्षित कार्यक्रम ल्याउन आग्रहसमेत गर्नुभयो । ‘पुरुषको दाँजोमा महिलाको अवस्था निकै कमजोर ’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले पनि महिलाको आयआर्जन र जीवनस्तर उकास्ने कार्यक्रमहरुलाई बढावा दिनु पर्छ, यसका लागि म पनि सक्दो पहल गर्ने छु ।’


‘स्थानीय तहमा कम्तीमा ३० प्रतिशत महिलाको सहभागीता हुनुपर्छ भनिएको छ’ महिलाका लागि बनेका नीति कार्यान्वयन गर्र्न र महिला लक्षित कार्यक्रम ल्याउन नीति निर्माण तहमा महिलाको बलियो पहुँच हुनु पर्छ’ उहाँले भन्नुभयो । अबको पाँच वर्षभित्रमा धनगढीलाई मुलुककको नमुना शहर बनाउने उहाँले घोषणा गर्नुभयो ।

कांग्रेसले क्षेत्र नम्बर ५ अन्तर्गत २१ वटै वडाका वडा अध्यक्षसँग छलफल गरेको जनाएको छ । कार्यक्रममा प्रदेशसभा उम्मेदवार डिल्लिराज पन्त, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशिला मिश्र भट्ट लगायतले धनगढीको विकासलाई मूर्तरुप दिन पनि कांग्रेसलाई जिताउन आग्रह गर्नुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार